बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजका अध्यक्ष दीपक नेपालको राजीनामा
काठमाडौं।बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजका केन्द्रीय अध्यक्ष दीपक नेपालले अध्यक्ष पदबाट राजीनामा दिएका छन्। उनले वि.सं. २०७७ सालदेखि निरन्तर अध्यक्ष पद सम्हाल्दै संस्थालाई व्यवस्थित, सशक्त र परिणाममुखी बनाउन महत्वपूर्ण योगदान दिएका थिए।


लामो समयको नेतृत्वपछि नेपालले नेतृत्व पुस्तान्तरण आवश्यक भएको बताउँदै पदबाट अलग हुने निर्णय गरेका हुन्। आफ्नो राजीनामाको कारण स्पष्ट पार्दै उनले भने, “एकै व्यक्तिले निरन्तर नेतृत्व गर्नु संस्थागत संस्कृतिका दृष्टिले उचित हुँदैन। नयाँ पुस्ताले अवसर पाउनु पर्छ भन्ने मेरो धारणा हो। अहिलेको समय युवाहरूकै हो, उनीहरूले नयाँ सोच, उत्साह र उर्जा सहित संस्थालाई अझै अगाडि बढाउनेछन् भन्ने विश्वास छ।”

उनको राजीनामालाई संस्थाभित्र नेतृत्व हस्तान्तरणको सकारात्मक अभ्यासको रूपमा लिइएको छ। नेपालकै कार्यकालमा संस्थाले ६ हजारभन्दा बढी सदस्यलाई एकताबद्ध गर्दै विभिन्न समस्या समाधानमा अग्रणी भूमिका निर्वाह गरेको थियो।














