हलेसी तुवाचुङमा प्रशासकीय भवन निर्माणको ठेक्का सम्झौता
खोटाङ।हलेसी तुवाचुङ नगरपालिकाले प्रशासकीय भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको छ । २०८२ साल असोज ७ गते सम्पन्न सम्झौता अनुसार, सिन्धुपाल्चोकस्थित आकाश निर्माण सेवाले भवन निर्माण कार्य गर्ने भएको छ ।

करिब रु. ५ करोड ८७ लाख १८ हजार १३० लागतमा निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता गरिएको हो । यसअघि नगरपालिका अन्तर्गतका १० वटा वडा कार्यालय भवनहरुको निर्माण सम्पन्न भइसकेपछि प्रशासकीय भवन निर्माण कार्य अघि बढाइएको हो ।
सम्झौतामा हस्ताक्षर गर्दै नगर प्रमुख बिमला राईले तोकिएको समयमै गुणस्तरीय भवन निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ ।
नगर प्रमुखको सचिवालयले सार्वजनिक गरेको जानकारीअनुसार, भवन निर्माण कार्य सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुरूप अगाडि बढाइने छ ।












