काठमाडौंको मैतीदेवी मन्दिरमा धुमधामका साथ घटस्थापना सम्पन्न
कविता खड्का,सगरमाथापाना।
काठमाडौं।आश्विन शुक्ल प्रतिपदाका दिन पर्ने घटस्थापनासँगै आजदेखि नवरात्रि पर्व सुरु भएको छ। राजधानी काठमाडौंको मैतीदेवी मन्दिरमा घटस्थापना विशेष भव्यताका साथ मनाइयो।
भक्तजन बिहानैदेखि मन्दिरमा भेला भई ढोल–नगारा, शंखध्वनिसहित देवी दुर्गाको पूजा आराधनामा सहभागी भएका थिए। मन्दिर परिसरमा पूजाआजा गर्न आउनेको भीड लागेको थियो भने फूल, अक्षता र धूपबत्ती अर्पण गरेर दुर्गामाताको कृपा प्राप्त गर्ने श्रद्धालुहरूको उत्साह देखिएको थियो


आजदेखि हिन्दू धर्मावलम्बीहरूले महान पर्व दशैं औपचारिक रूपमा सुरु गरेका छन्। आश्विन शुक्ल प्रतिपदाका दिन पर्ने घटस्थापनालाई दशैंको पहिलो दिन मानिन्छ। काठमाडौं उपत्यकासहित देशभरका मन्दिरहरूमा यस अवसरमा श्रद्धालुहरूको भीड लागेको छ।
नवरात्रि पर्वलाई नौ दिनसम्म देवी दुर्गाको आराधना गर्ने महत्त्वपूर्ण धार्मिक उत्सवका रूपमा मनाइन्छ। “नवरात्रि” शब्दको अर्थ नै “नौ रात” भन्ने हो। यस अवधिमा दुर्गाका नौ स्वरूप — शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ।


पौराणिक विश्वासअनुसार देवी दुर्गाले महिषासुर राक्षसको वध गरी धर्म र न्यायको स्थापना गरेकी थिइन्। त्यसै कारण दुर्गापूजालाई शक्ति, बुद्धि, धन र संरक्षण प्राप्त गर्ने साधनको रूपमा लिइन्छ।
यस पर्व वर्षमा दुईपटक — चैत्र र आश्विनमा — मनाइन्छ। यसलाई ऋतु परिवर्तनको बेला शरीर शुद्धिकरण र आध्यात्मिक साधनाको समय पनि मानिन्छ। भक्तजनहरूले यस अवधिमा व्रत बस्ने, फलाहार गर्ने, भजन–कीर्तन गर्ने परम्परा रहेको छ।
नवरात्रिको दशौँ दिन विजया दशमीका रूपमा मनाइन्छ। देवी दुर्गाले असुरमाथि विजय प्राप्त गरेको स्मरणमा यस दिन टिका र जमरा लगाएर आफना मान्यजन वा ठुलाबडा बाट साना लाई आशिर्वाद दीने परम्परा छ।

(तस्बिर:ममता खड्का)












