ढाकामा सम्पन्न एशियन पर्यटन मेला:नेपाल“सुरक्षित र स्वागतयोग्य गन्तव्य” – Sagarmathapana:: Online News Portal

ढाकामा सम्पन्न एशियन पर्यटन मेला:नेपाल“सुरक्षित र स्वागतयोग्य गन्तव्य”

   २०८२ आश्विन ६ गते  

काठमाडौं।बंगलादेशको ढाकामा सम्पन्न १२औं एशियन पर्यटन मेलामा नेपालले आफू पर्यटकका लागि सुरक्षित र स्वागतयोग्य गन्तव्य रहेको सन्देश प्रवाह गरेको छ।

असोज २ देखि ४ गतेसम्म ढाकास्थित कन्वेन्सन सिटी बासुन्धरामा आयोजित मेलामा नेपाल पर्यटन बोर्ड (NTB) सहित १० नेपाली पर्यटन कम्पनीहरूको सहभागिता रह्यो। हालैको जेन–जी आन्दोलनपछिको चुनौतीपश्चात् अन्तर्राष्ट्रिय स्तरमा नेपालले देखाएको यो पहिलो ठूलो उपस्थिति हो।

नेपालका लागि बंगलादेशस्थित राजदूत घनश्याम भण्डारीले उद्घाटन सत्रलाई सम्बोधन गर्दै, “नेपालको पर्यटन उद्योगले विभिन्न कठिनाइबीच पनि छिट्टै पुनरुत्थान गर्न सक्ने क्षमता राख्छ,” भन्दै नेपाल–बंगलादेशबीचको पर्यटन सहकार्यलाई अझ प्रगाढ बनाउन पहल भइरहेको बताए।

मेलामा राखिएको नेपाल स्टलमा ठूलो संख्यामा आगन्तुकहरूको उपस्थिती देखियो। सहभागी नेपाली कम्पनीहरूले आफ्ना नयाँ प्याकेजहरू प्रस्तुत गर्न, साझेदारी अवसर खोज्न र पुराना सम्बन्धलाई नवीकरण गर्न सफल भएका छन्। बंगलादेशी आगन्तुकहरूले नेपालको ताजा अवस्थाबारे जिज्ञासा राखे पनि नेपाल सामान्यतर्फ फर्किएको देख्दा सन्तुष्टि व्यक्त गरेका थिए।

पर्यटन बोर्डका तथ्यांकअनुसार, सन् २०२४ मा करिब ४९ हजार बंगलादेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। सन् २०२५ को पहिलो आठ महिनामै बंगलादेशी आगन्तुक संख्यामा झन्डै ३२ प्रतिशत वृद्धि भएको छ। निकटता, सांस्कृतिक समानता र बंगलादेशको बढ्दो आर्थिक क्षमताले नेपालका लागि बंगलादेशलाई महत्त्वपूर्ण बजार बनाइरहेको बोर्डले जनाएको छ।

यस वर्षको मेलामा आठ देशका १५० संस्थाहरू सहभागी भएका थिए भने १८० स्टलमार्फत पर्यटन सेवा र प्याकेजहरू प्रस्तुत गरिएका थिए। नेपालतर्फबाट हिमालयन क्लब टुर्स एण्ड ट्राभल, नेपाल बिग माउन्टेन ट्राभल कम्पनी, दि ट्रेक नेपाल, गो नेपाल ट्राभल टुर्स एण्ड ट्रेकिङ, स्नोवी होराइजन ट्रेक्स एण्ड एक्सपिडिसन, क्लासिकल एडभेन्चर नेपाल, हिमालगरी ट्राभल एण्ड टुर्स, फिमेल गाइड काठमाडौं, काठमाडौं स्वीट होम र रेगुलस ट्रेक्स एण्ड एक्सपिडिसन गरी १० कम्पनी सहभागी थिए।

नेपाल पर्यटन बोर्डले यस सहभागितामार्फत बंगलादेशी बजारमा स्पष्ट सन्देश दिएको जनाएको छ-

नेपाल सुरक्षित, स्वागतयोग्य र आतिथ्यका लागि तयार गन्तव्य हो।”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै