बैंक नोट बाहेकका सबै कागजात नेपालमै छापिने:सरकार प्रवक्ता तथा सूचना–सञ्चार मन्त्री गुरुङ – Sagarmathapana:: Online News Portal

बैंक नोट बाहेकका सबै कागजात नेपालमै छापिने:सरकार प्रवक्ता तथा सूचना–सञ्चार मन्त्री गुरुङ

   २०८२ भाद्र १५ गते  

काठमाडौं।अबदेखि बैंक नोटबाहेक सरकारसँग सम्बन्धित सबै किसिमका कागजात नेपालमै छापिने भएको छ।

सरकारका प्रवक्ता तथा सूचना–सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले आइतबार १८औँ पुस्तकालय दिवस २०८२ मूल समारोहमा बोल्दै उक्त जानकारी दिएका हुन्।

उनका अनुसार अब हुलाक टिकट, लालपुर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्र, स्मार्ट कार्ड, पासपोर्ट लगायतका स्टिकर तथा कागजपत्र सबै ‘सुरक्षण मुद्रण केन्द्र’मै छापिने व्यवस्था मिलाइएको छ।

“अघिसम्म हुलाक टिकट विदेशमै छापिन्थ्यो, तर अबदेखि हाम्रो सुरक्षण मुद्रण केन्द्रमै उत्पादन हुन्छ,” मन्त्री गुरुङले भने।

यद्यपि कर्मचारी व्यवस्थापनको अभावका कारण यस वर्ष केही कागजात (भिसा कार्ड, हुलाक टिकट, लालपुर्जा) जनक शिक्षा सामाग्री केन्द्रमार्फत छापिएको र आगामी साताभित्रै सबै काम सुरक्षण मुद्रण केन्द्रमै हुने उनले बताए।

मन्त्री गुरुङले बैंक नोट छाप्न भने छुट्टै मेसिन आवश्यक पर्ने भएकाले त्यसका लागि अझै विदेशमै निर्भर रहनुपर्ने बताए। साथै उनले सबै मन्त्रालय, विभाग तथा निकायलाई आवश्यक कागजात छाप्नुअघि सूचना–सञ्चार मन्त्रालयलाई जानकारी दिनुपर्ने व्यवस्था कानुनअनुसार लागू हुने स्पष्ट पारे।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै