“नेपालको कला–संस्कृतिको उत्सव:पहिलोपटक आर्ट एण्ड कल्चर फेस्टिवल”
काठमाडौं।नेपाल पर्यटन बोर्ड र नेपाल आर्ट काउन्सिलको सहकार्यमा काठमाडौं उपत्यकाका चारवटै महानगरपालिका (काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुर) मा पहिलोपटक ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल–२०२५’ आयोजना हुने भएको छ । आइतबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमार्फत भदौ २० देखि असोज १० गतेसम्म चल्ने यस महोत्सवबारे जानकारी दिइएको हो ।

नेपाल आर्ट काउन्सिलका अध्यक्ष सागर शमशेर राणाले महोत्सवले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै नेपाली कला, संस्कृति र परम्परागत धरोहरलाई चिनाउने उद्देश्य लिएको बताए । उनका अनुसार यसले स्वदेशी तथा विदेशी पर्यटक दुवैलाई आकर्षित गर्नेछ ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल प्रायः साहसिक पर्यटनका लागि परिचित भए पनि यस महोत्सवमार्फत नेपाललाई “सांस्कृतिक वैभवको भण्डार” को रूपमा प्रस्तुत गर्ने योजना रहेको स्पष्ट पारे ।



त्यसैगरी नेपाल होटल व्यवसायी संघ (हान) का अध्यक्ष तथा फेस्टिवल सञ्चालन समितिका प्रमुख विनायक शाहले नेपाललाई “लाइफटाइम एक्सपेरियन्स” को गन्तव्यका रूपमा प्रस्तुत गर्न महोत्सवले योगदान गर्ने बताए ।
तीन सातासम्म चल्ने यस महोत्सवमा ४० भन्दा बढी कार्यक्रम आयोजना हुने छन् । इन्द्रजात्राको अवसरसँगै सुरु हुने महोत्सवमा सांस्कृतिक प्रदर्शनी, कला–कौशल, संगीत–नृत्य, परम्परागत परिकार र जीवित संस्कृतिको प्रत्यक्ष अनुभव पाइने आयोजकले जनाएको छ ।
“नेपालको शाश्वत कला, संस्कृति, खानपान र सम्पदाको उत्सव” भन्ने नारासहित सुरु हुने महोत्सवले काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरलाई उत्सवमय बनाउने तयारी अन्तिम चरणमा पुगेको आयोजकको भनाइ छ ।












