लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग:परराष्ट्र मन्त्रालय
काठमाडौँ।परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको स्पष्ट पारेको छ। मंगलबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालको संविधानमा समावेश आधिकारिक नक्सामा महाकाली नदीको पूर्वतर्फ पर्ने उक्त भूभाग नेपालको हिस्सा भएको पुनः स्मरण गराएको हो।
मन्त्रालयले सरकार यस अडानमा अडिग रहेको उल्लेख गर्दै, सो क्षेत्रमा भारतले सडक विस्तार, सीमा व्यापारलगायत गतिविधि नगर्न बारम्बार आग्रह गर्दै आएको जनाएको छ। विवादित भूभाग नेपालको क्षेत्राधिकारभित्र पर्नेसम्बन्धी विषय मित्रराष्ट्र चीनलाई समेत जानकारी गराइसकेको मन्त्रालयले जनाएको छ।
नेपाल–भारतबीचको सम्बन्ध ऐतिहासिकरूपमा घनिष्ठ र मैत्रीपूर्ण रहेको उल्लेख गर्दै मन्त्रालयले सीमा विवादलाई शान्तिपूर्ण तथा कूटनीतिक माध्यमबाट समाधान गर्ने नेपाल सरकारको अडान यथावत् रहने प्रष्ट पारेको छ।












