मनसुनमा अन्नपूर्ण क्षेत्रमा घट्यो पर्यटक आगमन – Sagarmathapana:: Online News Portal

मनसुनमा अन्नपूर्ण क्षेत्रमा घट्यो पर्यटक आगमन

   २०८२ भाद्र ४ गते  

कास्की।पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा मनसुनका कारण पर्यटक आगमनमा कमी आएको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार गत असार महिनामा १९ हजार ७४९ पर्यटकले उक्त क्षेत्र भ्रमण गरेका थिए। तर साउनमा संख्या घट्दै जम्मा ११ हजार ८२४ पर्यटक मात्र आएका आयोजनाका प्रमुख डा. रविन कडरियाले जानकारी दिए।

उनका अनुसार मनसुन सुरु हुनुअघि जेठमा ३१ हजार ९५५ पर्यटक पुगेका थिए। तर गत वर्षको तुलनामा भने यस वर्ष साउनमा पर्यटक संख्या दोब्बर पुगेको छ। गत वर्ष सोही महिनामा जम्मा पाँच हजार ७१० पर्यटक आएका थिए।

डा. कडरियाले असोज लागेपछि अन्नपूर्ण क्षेत्रमा पदयात्री बढ्ने अपेक्षा गरिएको बताए। “मनसुनमा पनि घुम्न सकिने गन्तव्यको पहिचान र प्रवर्द्धन गर्न सके विदेशी पर्यटकलाई आकर्षित गर्न सकिन्छ,” उनले भने। हाल कास्कीको कोरी, बागलुङको ढोरपाटनजस्ता ठाउँमा आन्तरिक पर्यटकले मनसुन पदयात्रा सुरु गरेको उनले जानकारी दिए।

सामान्यतया असारदेखि भदौसम्मलाई पर्यटन क्षेत्रका लागि ‘अफसिजन’ मानिने गरिन्छ। असोजदेखि मङ्सिर र चैतदेखि जेठसम्मको समय पदयात्राका लागि उत्कृष्ट हुने गरेको आयोजनाले जनाएको छ। गत आवमा मात्र दुई लाख ७८ हजार ११३ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र भ्रमण गरेका थिए।

७६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्छन्। अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, घोडेपानी, पुनहिललगायत गन्तव्यले पर्यटकलाई आकर्षित गर्ने गरेका छन्।

प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली संस्कृति र सभ्यताले भरिपूर्ण अन्नपूर्ण संरक्षण क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै