पोखरा र बन्दीपुरबीच पर्यटकीय सहकार्य, दिगो पर्यटन विकासतर्फ पहल
पोखरा।पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष–२०२५ अन्तर्गत गण्डकीका विभिन्न पालिकासँग सहकार्य अभियान अघि बढाएको छ । यसै क्रममा सोमबार तनहुँको बन्दीपुरमा ‘पर्यटकीय साझेदारी र सहकार्य’ विषयमा पोखरा र बन्दीपुरका सरोकारवालाबीच अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले गण्डकी प्रदेशभित्रका ८५ वटै पालिकासँग सहकार्य गर्दै दिगो पर्यटन विकास गर्न लागिएको जानकारी दिए । उनका अनुसार पोखरा आएका पर्यटकलाई आसपासका गन्तव्य पठाउने र अन्य गन्तव्यमा पुगेकालाई पोखरासम्म ल्याउने साझा अभियानले पर्यटन क्षेत्रलाई थप लाभ पुर्याउनेछ ।
बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङले पोखरा–बन्दीपुर सहकार्यलाई ‘राजा र रानीको मिलन’ भन्दै यसले दुवै गन्तव्यको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । बन्दीपुर भ्रमण वर्ष–२०२५ का संयोजक बैशबहादुर गुरुङले सामूहिक प्रयास र साझेदारीमार्फत दिगो पर्यटन सम्भव हुने धारणा राखे ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले सहकार्यले पर्यटकको बसाइ लम्ब्याउने र खर्च बढाउनेतर्फ योगदान पुर्याउने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले सहकार्यबाट पर्यटक आदानप्रदान सहज हुने उल्लेख गरे ।
कार्यक्रममा महिला व्यवसायी रामकली खड्काले बन्दीपुरको परम्परागत हस्तकलाको संरक्षणमा जोड दिइन् भने व्यवसायी तथा संघसंस्थाका प्रतिनिधिहरूले मौलिकतालाई जोगाउन ठोस नीति र विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) आवश्यक भएको धारणा राखे ।
पोखरा महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिना र कार्यसम्पादन समितिका पदाधिकारीहरूले बन्दीपुरलाई सहकार्यका लागि उपयुक्त साझेदारका रूपमा लिँदै आगामी दिनमा पर्यटकीय आदानप्रदानलाई संस्थागत गर्ने प्रतिबद्धता जनाए ।












