काठमाडौंमा ‘Flight and Frame’ फोटो प्रदर्शनी सम्पन्न
काठमाडौं।१८६औं विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) ले काठमाडौंमा एकल फोटो प्रदर्शनी सम्पन्न गरेको छ ।‘Flight and Frame’ शीर्षकमा आयोजित प्रदर्शनीमा संस्थाका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तका करिब ६० भन्दा बढी तस्वीर प्रदर्शित गरिएका थिए ।

हनुमानढोका परिसरमा दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गरिएको प्रदर्शनीमा वन्तले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकालमा आधिकारिक फोटोपत्रकारको हैसियतमा खिचिएका विभिन्न भौगोलिक र पर्यटकीय क्षेत्रका दृश्यहरू प्रस्तुत गरेका थिए । अधिकांश तस्वीरहरू हेलिकप्टरमार्फत विभिन्न जिल्लाबाट खिचिएका हुन् ।
एनएफपिजेले पहिलो पटक यसरी एकल फोटो प्रदर्शनी आयोजना गरेको हो । उद्घाटन कार्यक्रम संस्थाका पूर्व अध्यक्ष मिनरत्न बज्राचार्य र वरिष्ठ फोटोपत्रकार कविन्द्रमान शाक्यले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा फोटोपत्रकार, सञ्चारकर्मी, फोटोग्राफर, स्थानीयवासी तथा विदेशी पर्यटकको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
अध्यक्ष वन्तले प्रदर्शनी सर्वसाधारणलाई लक्षित गरेर आयोजना गरिएको बताउँदै आगामी दिनमा यसले फोटो पत्रकारिताप्रति जनचासो बढाउने विश्वास व्यक्त गरे । त्यस्तै, महासचिव घनश्याम श्रेष्ठले प्रदर्शनीले विश्व फोटोग्राफी दिवसलाई सार्थक बनाउनका साथै नेपालमा फोटो पत्रकारिताको महत्वलाई अझ स्पष्ट रूपमा उजागर गरेको बताए ।












