एनएमए निर्वाचन २०२५ : फुर गेल्जे शेर्पा समूहको ३० बुँदे योजना सार्वजनिक
काठमाडौँ।नेपाल पर्वतारोहण संघ (एनएमए) को केन्द्रीय कार्यसमिति निर्वाचन–२०२५ का लागि अध्यक्ष पदका उम्मेदवार फुर गेल्जे शेर्पा नेतृत्वको समूहले शुक्रबार ३० बुँदे योजना सार्वजनिक गरेको छ।
विश्व कीर्तिमानी आरोही, पर्यटन विज्ञ र व्यवसायीलाई समेटेर बनेको यस समूहले संघलाई सुरक्षित, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको हिमालयन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ। समूहले संघलाई कुनै पनि राजनीतिक दबाबबाट मुक्त राखी निष्पक्ष र पारदर्शी नेतृत्व दिने प्रतिबद्धता जनाएको छ।
योजना सार्वजनिक कार्यक्रममा अध्यक्ष उम्मेदवार फुर गेल्जे शेर्पाले संघको कल्याणकारी कोष पुनर्स्थापनाका लागि व्यक्तिगत रूपमा २० लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरे। उनले संघको सेवा प्रणालीलाई सरल, प्रभावकारी र समयसापेक्ष बनाउने, विधान संशोधन गर्ने, आधुनिक सूचना प्रणाली विकास गर्ने र आर्थिक पारदर्शिता कायम गर्ने मुख्य एजेन्डा रहेको बताए।
३० बुँदे प्रतिबद्धतामा पदयात्रा चुलीको अनुमति प्रणाली सुधार, मनाङ माउन्टेनियरिङ स्कूल र पोखरा अन्तर्राष्ट्रिय माउन्टेन म्युजियमको स्तरोन्नति, अतिरिक्त आयआर्जनका स्रोत विकास, अन्तर्राष्ट्रिय अल्पाइन क्लबहरूसँग सहकार्य, जोखिम व्यवस्थापन युनिट स्थापना, फोहोर व्यवस्थापन, पर्वतीय पर्यटन विश्वविद्यालय स्थापना, दुर्गम पदयात्रा मार्गमा गेष्टहाउस वा पर्यटन सेल्टर निर्माण, कीर्तिमानी आरोहीलाई विशेष भीआइपी सुविधा, जलवायु परिवर्तन अनुकूलन र उद्धार पूर्वाधार विकासजस्ता महत्वपूर्ण विषय समेटिएका छन्।
समूहको उम्मेदवार सूचीमा अध्यक्षमा फुर गेल्जे शेर्पा, वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा काजी शेर्पा (स्पीडकाजी), द्वितीय उपाध्यक्षमा बोध राज भण्डारी, महासचिवमा राजेन्द्र बहादुर लामा, सचिवमा कन्दन थापा र कोषाध्यक्षमा ङीमा नुर्बु शेर्पा छन्।
त्यस्तै सदस्यतर्फ माधवकुमार धमला, केदार न्यौपाने, युप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिन्जे शेर्पा, देवेन्द्र इंगोल, डोल्मा लामा र निशा भोटे प्रतिस्पर्धामा उत्रिएका छन्।
समूहले संघका सदस्यहरूलाई सेवा–सुविधा तथा विशेष अवस्थामा आवश्यक सहयोग पुर्याउने वाचा गर्दै आगामी निर्वाचनमा आफ्नो टिमलाई विजयी गराउन मत दिन आग्रह गरेको छ।












