एमसिए–नेपालअन्तर्गत १८० किमी ४०० केभी प्रसारणलाइन निर्माण सम्झौतामा हस्ताक्षर

काठमाडौं-मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले संयुक्त राज्य अमेरिका र नेपाल सरकारको सहकार्यमा सञ्चालित एमसिसी ‘कम्प्याक्ट’ अन्तर्गत विद्युत् प्रसारण आयोजना अगाडि बढाउँदै दुई प्रमुख निर्माण सम्झौतामा हस्ताक्षर गरेको छ।
शुक्रबार सम्पन्न कार्यक्रममा रातमाटे–नयाँ दमौली प्रसारणलाइन निर्माणको जिम्मा एञ्जेलिक स्किपर संयुक्त उपक्रमलाई र नयाँ दमौली–नयाँ बुटवल प्रसारणलाइन निर्माणको जिम्मा वाइबा–सलासर संयुक्त उपक्रमलाई दिइएको छ। प्रतिस्पर्धात्मक अन्तरराष्ट्रिय बोलपत्रबाट चयन भएका यी दुई ठेकेदार कम्पनीहरूसँगको सम्झौता अन्तर्गत संयुक्त लागत १५ दशमलव ४५ करोड अमेरिकी डलर रहनेछ।
आयोजनाअन्तर्गत १८० किमी लामो ४०० केभी प्रसारणलाइनको डिजाइन, स्थापना, परीक्षण र सञ्चालन कार्य गरिनेछ।
सम्झौतामा अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसिसीका कार्यवाहक उपाध्यक्ष, अमेरिकी दूतावासका प्रतिनिधि लगायतका उच्च अधिकारीहरूको उपस्थितिमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ठेकेदार कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरे।
एमसिसीका कार्यवाहक उपाध्यक्ष जोन विङ्गलले नेपालमा विद्युत् आपूर्ति र विश्वसनीयता सुधारका साथै क्षेत्रीय ऊर्जा व्यापारमा टेवा पुर्याउने अवसर पाएकोमा गर्व व्यक्त गरे। अर्थ मन्त्रालयका सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष घनश्याम उपाध्यायले यस परियोजनाका लागि अमेरिकी सहयोगको प्रशंसा गर्दै सरकारी सहकार्य निरन्तर रहने बताए।
अमेरिकी दूतावासका नियोग उपप्रमुख जेसन मिक्सका अनुसार, यो साझेदारीले केवल प्रसारण पूर्वाधार मात्र नभई नेपालको दीर्घकालीन विकासलाई पनि तीव्र बनाउनेछ।
एमसिसी नेपाल कम्प्याक्ट ६९ करोड ७० लाख अमेरिकी डलरको ऐतिहासिक लगानीमार्फत विद्युत् प्रसारण र सडक मर्मत आयोजना कार्यान्वयन गर्दै पूर्वाधार सुदृढीकरण, सीमापार ऊर्जा व्यापार अभिवृद्धि र यातायात सुधारलाई लक्षित गरेको छ।
एमसिसी सन् २००४ मा स्थापना भएको अमेरिकी सरकारी निकाय हो, जसले सुशासन, पारदर्शिता र लोकतान्त्रिक मूल्यमा प्रतिबद्ध राष्ट्रहरूलाई समयसीमित अनुदान प्रदान गर्दै विश्वव्यापी गरिबी घटाउने उद्देश्य राखेको छ। नेपाल सरकारले विसं २०७५ वैशाखमा गठन गरेको एमसिए–नेपाल यस कम्प्याक्ट अन्तर्गतका आयोजनाहरू कार्यान्वयन गर्ने कानूनी निकाय हो।