मध्यपुरथिमिका तीन सहरमा देवी–देवताको रहस्यमय नाच महोत्सव सुरु
मध्यपुरथिमि–गाईजात्राको रौनक सकिन नपाउँदै मध्यपुरथिमिका सडकहरू फेरि तान्त्रिक धुन र देवगणको नाचले गुञ्जिन थालेका छन्। बोडे, नगदेश र पोबुटाल क्षेत्रका तीन ऐतिहासिक सांस्कृतिक नृत्य एकैसाथ सुरु भएसँगै सहरको रात अब चार दिन चार रातसम्म देवी–देवताको आभामय रंगमञ्चमा परिणत हुनेछ।

बोडेमा प्रसिद्ध नीलबाराही नाच गए राति मध्यरातबाट सुरु भयो। बोडेको अखा द्यों छेँ (देवता घर) बाट आरम्भ भएको यो नाचमा १९ देवगण सहभागी छन्। तान्त्रिक विधिअनुसार हुने यो नृत्य बिहानसम्म विभिन्न टोल–चोकमा घुम्दै भक्तजनबाट पूजा प्राप्त गर्छ। स्थानीय विश्वास अनुसार यस नाचमार्फत देवगणले नीलबाराही देवीको अदृश्य शक्ति प्राप्त गर्छन्।

यसैबीच, नगदेशमा भैलः प्याखँ (भैरव नाच) १२ वर्षपछि पुनः प्रदर्शनमा आएको छ। दुई जना भैलः, दुई जना दाँगी र एक जना ज्यापुंगसहित करिब सय जनाको टोलीले नगदेशका विभिन्न टोलमा रातभर भैरवका रूप प्रस्तुत गर्दैछ। भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म चल्ने यो नाचमा पनि तान्त्रिक शक्तिको विशेष महत्व रहन्छ।
त्यस्तै, पोबुटालबाट सुरु भएको सलचा प्याँख (घोडा नाच) भुलाखेल, द्धिगुटोल, बालकुमारी र चपाचाल क्षेत्र हुँदै प्रदर्शन भइरहेको छ। घोडा आकृतिका नर्तकले प्रस्तुत गर्ने यो नाच स्थानीय संस्कृतिको जीवित प्रतिमूर्ति मानिन्छ।
चार रात र चार दिनसम्म मध्यपुरथिमिका सडकहरूमा नीलबाराही, भैरव र सलचा प्याँखका ताल, धून र रंगीन पोशाकको जादू फैलिँदै जानेछ, जसले सहरलाई पुरै एक सांस्कृतिक उत्सवको रंगमञ्चमा बदलिदिनेछ।













