पर्यटक यातायातमा ‘सक्षम नेतृत्व’ आवश्यक, गोले टिमलाई व्यवसायीहरूको साथ जुटाउन संघको अपिल
काठमाडौँ।नेपाल पर्यटक यातायात व्यवसायी संघले आफ्नो आगामी कार्यदिशा सार्वजनिक गर्दै आगामी २२औँ साधारण सभामा भिम बहादुर गोले नेतृत्वको टिमलाई समर्थन गर्न सदस्य व्यवसायीहरूलाई आग्रह गरेको छ । संघले पर्यटक यातायात क्षेत्रलाई चुनौतीका बीच टिकाइराख्न अनुभवी र जुझारु नेतृत्व अपरिहार्य रहेको बताएको हो ।

संघका अनुसार स्थापना कालदेखि नै संघले पर्यटक यातायात कार्यविधि–२०६८ निर्माण, इन्धन खपत मिलानको व्यवस्था, कोभिड–१९ का जरिवाना छुट, लिलामी प्रक्रियाबाट व्यवसायीलाई जोगाउने, र पर्यटन क्षेत्रमा भ्याक्सिनको सुविधा उपलब्ध गराउनेजस्ता महत्त्वपूर्ण काम गरिसकेको छ ।

वर्तमान अध्यक्ष वेदराज बास्तोला नेतृत्वमा संघले ठूला सवारी साधनलाई होटल मल्लदेखि सोह्रखुट्टेसम्म २४ घण्टा सञ्चालनको अनुमति दिलाउने, उपत्यकामा पार्किङ तथा पिकअप–ड्रपको समस्या समाधान गर्ने, संघीय पर्यटन तथा यातायात ऐनमा पर्यटक यातायातको छुट्टै पहिचान स्थापित गर्ने, पेट्रोलियम मूल्यवृद्धिसँगै भाडादर पुनर्निर्धारण गर्ने र बिजुली सवारीलाई पर्यटक सवारीमा रूपान्तरण गर्ने अवरोध हटाउनेजस्ता उपलब्धि हासिल गरेको छ ।
आगामी योजनामा प्रदेशीय कार्यालयको विस्तार, बागमती प्रदेशको हरियो नम्बर प्लेट हटाउने कानुनको विरोध, होटल–रिजोर्टपछिको दोस्रो ठूलो लगानीको पेशाको संरक्षण, चालक–सहचालकको पेशागत मर्यादा कायम गर्ने र अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा उत्कृष्ट सेवा प्रदान गरेर संघलाई ‘विशिष्ट यातायात सेवा प्रदायक’ का रूपमा स्थापित गर्ने लक्ष्य रहेका छन् ।
“यो पेशामा मर्यादा, अधिकार र व्यवसायिक सुरक्षा सुनिश्चित गर्न सक्ने नेतृत्व अहिलेको आवश्यकता हो,” संघले प्रतिवद्धता पत्रमार्फत उल्लेख गर्दै, आगामी साधारण सभामा गोले नेतृत्वलाई समर्थन गर्न सबै सदस्यलाई आह्वान गरेको छ ।












