सिद्धि बहादुर तामाङ सातौँ पटक माउन्ट केटु आरोहण गर्दै नयाँ रेकर्ड
काठमाडौं।दोलखाका पर्वतारोही तथा अनुभवी गाइड सिद्धि बहादुर तामाङले विश्वको दोस्रो अग्लो पर्वत माउन्ट केटु (८,६११ मिटर) सातौँ पटक सफलतापूर्वक आरोहण गरेका छन्। आइतबार (अगस्ट ११) स्थानीय समय अनुसार दिउँसो करिब ३:१० बजे आफ्नो क्लाइन्टलाई गाइड गर्दै उनले शिखर चुमेका हुन्।

हिमालयन गाइड्स नेपाल प्रा.लि.का म्यानेजर उमिद भण्डारीका अनुसार यस सफलतासँगै तामाङले केटुमा सर्वाधिक आरोहण गर्ने विश्व कीर्तिमान कायम गरेका छन्। गत वर्ष (जुलाई २८, २०२४) उनले २४ घण्टाभित्र दुई पटक केटु चढ्दै विश्वकै पहिलो व्यक्ति बन्ने ऐतिहासिक उपलब्धि हासिल गरेका थिए।
दोलखाको लामाबगरमा जन्मिएका तामाङले केटुसहित सगरमाथा, ल्होत्से, मनास्लु, चोयु, मकालु, अमा डब्लम, हिमलुङ, धौलागिरी, बरुण्त्से, आइसल्याण्ड पीक, मेरा पीक र लोबुचे पीकलगायत थुप्रै हिमशिखर सफलतापूर्वक आरोहण गरिसकेका छन्।
तामाङले पहिलो पटक २०१८ मा माउन्ट केटु चढेका थिए। त्यसपछि २०२१, २०२२, २०२३ मा, २०२४ मा दुई पटक, र हाल २०२५ मा सातौँ पटक आरोहण गर्दै यो ऐतिहासिक रेकर्ड सुरक्षित गरेका हुन्।














