कालीगण्डकीमा अवैध दोहन तीव्र,कानुनी रोकलाई व्यवसायीले हेला
बागलुङ।बर्खायाममा नदीजन्य पदार्थ उत्खननमा कानुनी प्रतिबन्ध हुँदाहुँदै पनि बागलुङ र पर्वतको सीमावर्ती कालीगण्डकी नदीमा रातदिन अवैध दोहन भइरहेको छ।
गत असारदेखि भदौ १५ सम्म नदीजन्य पदार्थ निकाल्न निषेध भए पनि दर्जनभन्दा बढी स्थानमा स्काभेटर र टिपरमार्फत बालुवा संकलन भइरहेको स्थानीयले बताएका छन्। सहस्रधारा क्षेत्रको भाटेखोला बगरमा शनिबार राति ९ बजे मात्रै एउटा स्काभेटरले बालुवा निकाल्दै पाँचवटा टिपरले बोकिरहेको अवस्था देखिएको थियो।
अभियानकर्मी आरके अदिप्त गिरीका अनुसार भाटेखोला, दब्ल्याङ, खनियाघाट र कालाखोला बगरजस्ता स्थानमा दोहन चरम छ। “प्रहरी प्रशासनको मिलेमतोबिना यस्तो दोहन सम्भव हुँदैन,” गिरीले आरोप लगाए, “गण्डकी सभ्यताको रक्षा गर्न कालीगण्डकीलाई दोहनमुक्त बनाउनुपर्छ।”
उनका अनुसार म्याग्दी, पर्वत र बागलुङ भएर बग्ने कालीगण्डकीमा भइरहेको अन्धाधुन्ध उत्खननले धार्मिक महत्व बोकेको शालिग्राम शिला समेत संकटमा पारेको छ। नदीको बीच भागमै उत्खनन हुँदै आएको र यसले किनार कटान गरेर बस्ती बाढी जोखिममा पारेको उनको भनाइ छ।
ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ अनुसार नदी तथा खोला किनारबाट ५०० मिटर टाढा मात्रै उत्खनन गर्न पाइन्छ। तर, व्यवहारमा नियम उल्टो भइरहेको गिरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीले दोहन रोक्न चुनौती रहेको स्वीकार गर्दै नयाँ रणनीति बनाइरहेको जानकारी दिए। उनका अनुसार केही स्थानमा सादा पोसाकमा प्रहरी खटाउने योजना छ।
स्थानीय सरकार, प्रशासन र जिल्ला समन्वय समिति एकअर्कामा जिम्मेवारी ढल्काइरहँदा नदीको पारिस्थितिक प्रणाली र प्राकृतिक सम्पदा दिनदिनै क्षति भइरहेको स्थानीयवासीको आरोप छ।












