इतिहासको पुनः मान्यता: तिलौराकोट फेरि युनेस्कोको सूचीतर्फ” मन्त्री पाण्डे
काठमाडौं-नेपाल सरकारले ऐतिहासिक स्थल तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने अभियानलाई फेरि जीवन्त बनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेका अनुसार, युनेस्कोको आउँदो ४८औँ वर्ल्ड हेरिटेज कमिटी बैठकमा तिलौराकोटको प्रस्ताव पुनः पेश गरिनेछ।
बुधबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा मन्तव्य दिंदै मन्त्री पाण्डेले यसअघि गरिएको प्रयास ४७औँ बैठकमा प्राविधिक कमजोरी र भारतको ३३ बुँदे असहमतिका कारण असफल भएको जानकारी दिए। “नेपालसँग तिलौराकोटको ऐतिहासिकता पुष्टि गर्ने पर्याप्त प्रमाणहरू छन्,” मन्त्री पाण्डेले भने, “यसपटक हामी अधिक तयारीका साथ अघि बढ्दैछौं।”
पाण्डेले लुम्बिनीबारे पनि महत्वपूर्ण खुलासा गरे — उनले भारतले लुम्बिनीलाई युनेस्कोको ‘खतरा सूची’मा पर्नबाट बचाउन सहयोग गरेको बताए। तर लुम्बिनी विकास कोषको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै उनले सुधारका केही कदम चालिएको र आगामी योजना अझ व्यवस्थित र परिणाममुखी हुने आश्वासन दिए।
तिलौराकोट, जहाँ शाक्य राजकुमार सिद्धार्थले गृहत्याग गरेका थिए भन्ने मान्यता छ, बौद्ध सभ्यताको महत्त्वपूर्ण स्थल हो। यदी प्रस्ताव पारित भयो भने यो स्थल लुम्बिनीपछिको अर्को बौद्ध सम्पदाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त केन्द्र बन्नेछ।












