शिङ्सालुङका बुढापाकालाई काठमाडौँमै सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा
निमा पोङ्स्युवा,
काठमाडौँ।सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न अनिवार्य गरिएको बायोमेट्रिक प्रक्रिया सहज बनाउन भोटखोला गाउँपालिकाले काठमाडौँमा एक हप्ते सेवा शिविर सञ्चालन गर्ने भएको छ। भदौ दोस्रो हप्ताबाट लागू हुने उक्त अभियानले विशेषगरी राजधानीमा बसोबास गरिरहेका जेष्ठ नागरिक, एकल महिला तथा अपांगता भएका नागरिकहरूलाई लक्षित गरेको छ।
भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर लामाका अनुसार, मौसमको प्रतिकूलता र शारीरिक अवस्थाका कारण शिङ्सालुङ, थुदाम, किमाथांका, रिदाक लगायतका टाढाका बस्तीका नागरिकहरूलाई स्थायी बसोबासको लागि काठमाडौँ, धरान, उर्लाबारी, इलामको मानेभञ्ज्याङ, खाँदबारी, दमक, बिर्तामोड, भारतको दार्जिलिङसम्म पुग्नुपरेको छ। गाउँ फर्किन मुस्किल पर्ने अवस्थामा रहेका नागरिकहरूलाई लक्षित गर्दै पालिकाले यो विशेष पहल अघि सारेको हो।
“यसअघि पनि काठमाडौँमा पंजिकरण शिविर गरेका थियौं, यसपटकको सेवा अझ व्यवस्थित र पहुँचयोग्य बनाइनेछ,” अध्यक्ष लामाले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै भने, “सबै लाभग्राहीले अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र साथमा राख्नुपर्नेछ।”
चीन सीमासँग जोडिएको ऐतिहासिक शिङ्सालुङ क्षेत्र कोरोना महामारी र त्यसपछि पनि बन्द रहँदै आएको नाका समस्याका कारण जनसंख्या गाउँबाट बाहिरिँदै गएको अवस्थामा रहेका छन्। पाँच वर्षदेखि चीनको नाका नखुल्दा धेरै स्थानीयहरू राजधानी लगायतका शहरहरूमा स्थायी बसोबास गर्न थालेका छन्।
स्थानीय सरकारी सेवा पहुँचमा ल्याउन पालिकाको यो प्रयासले अन्य पालिकाहरूका लागि पनि सकारात्मक सन्देश पुर्याउने अपेक्षा गरिएको छ।












