खोटाङमा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम सुरु, ७७ जिल्लाका १ हजार ७२ विद्यालयमा सञ्चालन हुने – Sagarmathapana:: Online News Portal

खोटाङमा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम सुरु, ७७ जिल्लाका १ हजार ७२ विद्यालयमा सञ्चालन हुने

   २०८२ श्रावण १८ गते  

खोटाङ-विश्व फुटबल महासंघ (फिफा)को सहयोगमा नेपालमा सञ्चालन भइरहेको ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम खोटाङमा शनिबारबाट औपचारिक रुपमा सुरु गरिएको छ।

खेलकुद र शिक्षाको संयोजनमार्फत बालबालिकाको समग्र विकासलाई लक्ष्य बनाइएको कार्यक्रम दिक्तेलस्थित माटिकोरे खेल मैदानमा प्रारम्भ गरिएको हो। कार्यक्रममा दिक्तेल इङ्लिस बोर्डिङ स्कुलका करिब २ सय विद्यार्थीले पहिलो चरणको प्रशिक्षण लिएका छन्।


देशव्यापी कार्यान्वयन

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम नेपालका सबै ७७ जिल्लाका १ हजार ७२ विद्यालयमा सञ्चालन गरिनेछ। यो कार्यक्रम एक वर्षसम्म सञ्चालन हुनेछ, जसमा विद्यार्थीहरूलाई नियमित फुटबल प्रशिक्षण दिइनेछ।

नेपालमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित दशरथ रंगशालामा कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए। त्यसलगत्तै खोटाङमा स्थानीय तहमा कार्यक्रमको कार्यान्वयन सुरु गरिएको हो।

साझेदारी र उद्देश्य

फिफा र युनेस्कोको साझेदारीमा सञ्चालित उक्त कार्यक्रम नेपालमा अखिल नेपाल फुटबल संघ (एन्फा)को समन्वयमा लागू गरिएको हो। खोटाङ फुटबल संघको आयोजना र दिक्तेल इङ्लिस बोर्डिङ स्कुलको व्यवस्थापनमा कार्यक्रम अघि बढाइएको प्रशिक्षक रोशेष श्रेष्ठले जानकारी दिए।

सीपमूलक शिक्षामा जोड

कार्यक्रमअन्तर्गत विद्यालयहरूमा फुटबल सामग्री वितरण, प्रशिक्षक तथा शिक्षकहरूलाई तालिम, र फुटबललाई शिक्षणको माध्यमको रूपमा प्रयोग गरिनेछ।

यसले बालबालिकामा अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व, लैङ्गिक समानता र सामाजिक समावेशिताजस्ता जीवनोपयोगी सीपहरू विकास गर्न मद्दत गर्ने एन्फाले जनाएको छ।

कार्यक्रमले शारीरिक मात्र होइन, मानसिक, सामाजिक र नैतिक सशक्तिकरणमा समेत ध्यान दिने लक्ष्य राखेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै