शाह परिवार सार्वजनिक कार्यक्रममा एकसाथ : हृदयेन्द्रदेखि पूर्वराजा ज्ञानेन्द्रसम्म सहभागी
काठमाडौं—लामो समयपछि पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो सम्पूर्ण परिवारसहित सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्। शनिबार हिमानी कोष र इन्टरनेशनल क्लबको सहकार्यमा आयोजित विशेष कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल, पूर्वयुवराज पारस, पूर्वयुवरानी हिमानी, पूर्वनवयुवराज हृदयेन्द्रलगायत सम्पूर्ण शाह परिवारको उपस्थितिले कार्यक्रम विशेष बनेको हो।

पूर्वनवयुवराज हृदयेन्द्र शाहको हालैको जुम्ला भ्रमणसम्बन्धी ब्लग अहिले सामाजिक सञ्जालमा अत्यधिक चर्चामा छ। युवापुस्तामा उनको यात्रा शैली र प्रस्तुतिकरणको निकै रुचि देखिएको छ।
‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ भन्ने मूल नारासहित हिमानी कोषले आयोजना गरेको कार्यक्रममा देशमै सीप, उद्योग र व्यवसाय विकास गर्न सकिने सन्देश दिइएको थियो। ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ भन्ने अवधारणा प्रस्तुत गर्दै युवालाई देशभित्रै अवसर खोज्न प्रेरित गरिएको हो।
हिमानी कोषले पछिल्लो समय सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ। आजको कार्यक्रमले भने विशेषगरी स्वदेशमै अवसर खोज्ने युवाहरुलाई लक्षित गरेको छ।
शाह परिवारको सार्वजनिक उपस्थिति प्रतीकात्मक
पूर्वराजपरिवारको सामूहिक उपस्थिति अहिलेको राजनीतिक, सामाजिक सन्दर्भमा प्रतीकात्मक रूपमा पनि हेरिएको छ। लामो समयपछि पूर्ण परिवार एकैसाथ सार्वजनिक कार्यक्रममा देखिनु उल्लेखनीय मानिएको छ। कार्यक्रममा शाह परिवारसँग फोटो खिचाउने तथा कुराकानी गर्ने युवाहरूको घुइँचो लागेको दृश्य देखिन्थ्यो।












