हलेसी–कटारी छोटो मार्गमा सडक पिच,मधेस प्रदेश जोड्ने प्रमुख मार्ग बन्दै
काठमाडौं-हलेसी तुवाचुङ नगरपालिका–२ स्थित डिकुवा–च्यास्मिटार खण्डमा हालै सडक पिच भएसँगै, दक्षिण तराई विशेषगरी मधेस प्रदेश हुँदै उदयपुरको कटारीबाट हलेसी मन्दिरसम्म पुग्ने सबैभन्दा छोटो दुरीको मार्गको विकासले गति लिएको छ।


करिब ७५ देखि ८० किलोमिटर लामो यो सडक खण्ड हलेसी मन्दिरलाई मधेस प्रदेशसँग जोड्ने सबैभन्दा छोटो र सुगम मार्ग मानिन्छ। अहिले च्यास्मिटारदेखि डिकुवा खण्डमा पिच भइरहेको छ, जसले यात्रा सहज र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।
हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राई भन्छिन्, “गाउँघर बन्दैछ, अब भौतिक पूर्वाधारको विकासमार्फत आर्थिक समृद्धिको ढोका खोल्ने समय आएको छ। हामीले सडकमार्फत पर्यटन र कृषि दुबै क्षेत्रको दिगो स्रोत सुनिश्चित गर्दै नागरिकको जीवनस्तर उकास्ने योजना बनाएका छौँ।”

स्थानीय सरकारको योजनाअनुसार, हलेसी–कटारी सडक सम्पर्कले मधेस प्रदेशका तल्लो क्षेत्रदेखि हलेसी मन्दिरसम्मको धार्मिक तथा पर्यटकीय यात्रालाई सहज बनाउनेछ। यसले व्यापार, कृषि उपजको बजार पहुँच र रोजगारीमा समेत योगदान गर्ने विश्वास गरिएको छ।
स्थानीय बासिन्दा, यात्रीहरू र व्यवसायीहरू यस सडकको सुधारप्रति खुसी व्यक्त गरिरहेका छन्।
“हलेसीको विकास, सडकबाट सुरु हुन्छ” भन्ने स्थानीय अभियान अहिले एक स्थायी विकासको आधार बन्दै गएको छ।













