‘ प्रथम राष्ट्रिय कोदो दिवस २०८२ ’ सम्पन्न
निराज रानाभाट
भक्तपुर।नेपालमा पहिलोपटक राष्ट्रिय रूपमा मनाइएको ‘ कोदो दिवस – २०८२ ’ भक्तपुरको चाँगुनारायण नगरपालिका -९, ताथली ( हर्षपुर ) मा भव्य रूपमा सम्पन्न भएको छ । कोदोको महत्त्वलाई राष्ट्रियस्तरमा स्थापित गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई ‘ राष्ट्रिय कोदो दिवस ’ का रूपमा घोषणा गरेसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चाँगुनारायण नगरपालिका, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन ( एफएओ ) को संयुक्त पहलमा कार्यक्रम गरिएको हो । समारोह कृषि विभागका महानिर्देशक तथा कोदो दिवस मूल समारोह समितिका अध्यक्ष प्रकाश कुमार सञ्जेलको अध्यक्षतामा, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा एफएओ नेपालका प्रमुख केन शिमिजु, कृषि सचिवहरू डा. गोविन्द प्रसाद शर्मा र डा. दीपक कुमार खराल, नेपाल कृषि अनुसन्धान परिषद् ( नार्क ) का कार्यकारी निर्देशक डा. कृष्णप्रसाद तिम्सिना, चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री, किसान नेता विजय लामा, कृषि विज्ञहरु, पत्रकारहरु तथा सयौं स्थानीय कृषकहरूको उपस्थिति थियो ।

उक्त समारोहलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले स्वस्थ रहनका लागि हरेक नेपालीले दैनिक एक छाक कोदोको परिकार खानु पर्ने बताए । ‘हामी अहिले उपचार गर्न सक्छौं, तर हाम्रो भविष्यको सन्तति रोगी भएर जन्मिन सक्छन्’, मन्त्री अधिकारीले भने,‘त्यसैले एक छाक कोदोको परिकार भान्सामा समावेश गर्नु स्वस्थ जीवनको सुनिश्चितता हो ।’ अधिकारीले कोदो खेतीलाई आयआर्जनसँग पनि जोड्न सकिने भएकाले यसको प्रवर्द्धनमा किसान, नीति निर्माता र सरोकारवालाहरू एकजुट हुनु पर्ने धारणा राखे । त्यस्तै, कृषि विभागका महानिर्देशक सञ्जेलले सरकारले कोदोलाई रणनीतिक बालीका रूपमा प्राथमिकता दिँदै दिवसको घोषणा गरेको स्पष्ट पारे । सञ्जेलले आगामी दिनमा कोदो प्रवर्द्धनका लागि मन्त्रालयबाट अझ प्राथमिकताका साथ कार्यक्रमहरू सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरे ।


यसैगरी, रैथाने बाली विज्ञ तथा मन्त्रालयका सह – सचिव डा. रामकृष्ण श्रेष्ठले कोदोलाई जलवायु परिवर्तन – अनुकूल टिकाउ बालीका रूपमा प्रवर्द्धन गर्नु सरकारको ऐतिहासिक र दूरदर्शी निर्णय भएको बताए। श्रेष्ठका अनुसार कोदो खाद्य सुरक्षाको आधार, पोषणको स्रोत र पर्यावरणमैत्री खेतीका हिसाबले पनि विशेष महत्त्व राख्दछ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कृषि सचिव शर्माले कोदोलाई हेपिएको बालीका रूपमा लिने मानसिकता रहेको भए पनि पछिल्लो समय यसको पोषणीय, पर्यावरणीय र आर्थिक मूल्यबारे जनचेतना बढ्दै गएको बताए । शर्माले भने,‘विश्वमै कोदो अब सर्वश्रेष्ठ अन्नका रूपमा स्वीकारिन थालेको छ ।’ यस्तै, चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले पहिलो राष्ट्रिय कोदो दिवस आफ्नो नगरमा आयोजना हुनु गौरवको विषय भएको उल्लेख गर्दै कोदो जस्ता परम्परागत बालीलाई नगरस्तरबाटै प्राथमिकता दिइने प्रतिबद्धता जनाए । ‘ कृषि, पर्यटन र सामाजिक पूर्वाधार हाम्रो नगरको मूल आधार हो’, खत्रीले भने,‘कोदोको उत्पादन पहिले उच्च थियो तर लागत बढी हुने र बजार नपाउने समस्याका कारण पछिल्लो समयमा घटेको थियो । अब हामी यसलाई पुनः प्रमुख बालीका रूपमा स्थापित गर्ने छौँ ।’


त्यसैगरी, नेपाल कृषि अनुसन्धान परिषद् ( नार्क ) का कार्यकारी निर्देशक डा. तिम्सिनाले कोदोको माग दिनप्रतिदिन बढिरहेको जनाउँदै बालीचक्रमा कोदोलाई समावेश गर्दै जानु पर्ने आवश्यकतामा जोड दिए । तिम्सिनाले नार्कले कोदोबारे अनुसन्धानलाई उच्च प्राथमिकता दिइरहेको जानकारी दिँदै निजी क्षेत्रलाई पनि अनुसन्धानमा लाग्न आग्रह गरे । उक्त कार्यक्रममा एफएओ नेपाल तथा भुटानका प्रमुख केन शिमिजुले कोदो बाली प्रवर्द्धनका लागि एफएओको सहयोग निरन्तर जारी रहेको बताए । ‘सन् २०२३ सालमा संयुक्त राष्ट्र संघले कोदोलाई अन्तर्राष्ट्रिय बालीका रूपमा घोषणा गरेपछि हामी थप प्राथमिकताका साथ यसबारे काम गरिरहेका छौँ’, शिमिजुले भने,‘नेपाल सरकारले कोदो दिवस घोषणा गर्नु खुशीको कुरा हो । एफएओले आगामी दिनमा पनि सहयोग र साथ निरन्तर दिने छ ।’
कोदो दिवस ‘ कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार ’ भन्ने मूल नारासहित मनाइएको हो । उक्त कार्यक्रमको औपचारिक सत्रपछि अतिथिहरूले कार्यक्रमस्थल नजिकै रहेको बारीमा कोदो रोपेर दिवसलाई मनाएका थिए । उक्त समारोहमा कोदो प्रवर्द्धनमा योगदान पुर्याउने संस्था र व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो । कोदो व्यवसायमा महिलाहरूको सक्रिय सहभागितालाई सम्मान गर्दै ‘ कोदाली भेन्चर ’ लाई विशेष सम्मान प्रदान गरिएको थियो । यस्तै, राष्ट्रिय कृषक समूह महासंघ र अनाजलाई कोदो प्रवर्द्धन अभियान सञ्चालन गरेबापत कदर – पत्र प्रदान गरिएको थियो ।
कृषि मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८० / ०८१ मा नेपालमा २ लाख २४ हजार ९ सय ३५ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिई ३ लाख ७३२ मेट्रिक टन उत्पादन भएको छ, तथापि प्रति हेक्टर उत्पादकत्व भने १.३३ मेट्रिक टनमा सीमित रहेको छ । विज्ञहरूका अनुसार सिँचाइ, उन्नत बीउ र प्रविधिको प्रयोगसँगै जनचेतना अभिवृद्धि गरिएमा कोदोको उत्पादन र उपयोग दुबैमा उल्लेखनीय वृद्धि सम्भव छ, तर आत्मनिर्भरताको हिसाबले कोदोको अवस्था चिन्ताजनक छ । त्यसैगी, भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१ / ०८२ मा नेपालले करिब ७६ करोड ६३ लाख रुपैयाँ बराबरको १८ हजार ३ सय १६ मेट्रिक टन कोदोजन्य उत्पादन आयात गरेको छ, भने निर्यात जम्मा ७० मेट्रिक टन मात्र गरिएको छ ।
तस्बिर : निराज रानाभाट













