बाँस सत्याग्रह’मा ऐक्यवद्धताको लहर, मेयर भट्टराईको स्वास्थ्य अवस्था चिन्ताजनक
काठमाण्डौ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख तीर्थराज भट्टराईद्वारा थालिएको ‘बाँस सत्याग्रह’ले देशव्यापी चर्चा बटुल्दै गएको छ। बाँस तथा बाँसजन्य उद्योग प्रवद्र्धन गर्नुपर्ने मागसहित साउन १४ गतेदेखि माइतीघर मण्डलामा आमरण अनसन बसेका मेयर भट्टराईको मागप्रति संस्थागत र व्यक्तिगत ऐक्यवद्धता जनाउनेहरूको संख्या दिनप्रतिदिन बढिरहेको छ।


उनले सात बुँदे माग अघि सार्दै राष्ट्रिय नीति निर्माणमा बाँसको महत्व समेटिनुपर्ने, स्थानीय तहबाट बाँससम्बन्धी उद्योग सञ्चालन गर्न सहज वातावरण बनाइनुपर्ने र सरकारी लगानीमार्फत बाँस खेतीमा प्रवद्र्धन गरिनुपर्ने जस्ता विषयहरूमा जोड दिएका छन्।
भट्टराईको आन्दोलनप्रति खोटाङ जिल्ला समन्वय समिति र बराहपोखरी गाउँपालिकाले विज्ञप्ति जारी गरी ऐक्यवद्धता जनाएका छन्। जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले साउन १५ गते जारी विज्ञप्तिमा मेयर भट्टराईको जीवनरक्षाका लागि यथाशीघ्र माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।


बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बन्जाराले पनि विज्ञप्तिमार्फत बाँस प्रवद्र्धनको माग जायज भएको भन्दै सत्याग्रही भट्टराईलाई समर्थन जनाएका छन्।
यस्तै, प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ अनशनस्थलमै पुगेर समर्थन जनाइसकेका छन् भने विभिन्न राजनीतिक, सामाजिक तथा नागरिक समूहहरूबाट पनि समर्थनका आवाजहरू आइरहेका छन्।
भट्टराईको स्वास्थ्य अवस्था भने क्रमशः कमजोर बन्दै गएको छ। अनसनको पहिलो रातमै स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बीर अस्पतालमा भर्ना गरिएको थियो। तीन दिने भोक हड्तालबाट कुनै सुनुवाइ नभएपछि उनी आमरण अनसनमा बसेका हुन्।
यसबीच, राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराउँदै भट्टराईको जीवनरक्षाका लागि तत्काल पहल गर्न आग्रह गरेको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भट्टराईको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै आवश्यक उपचार र सम्वादको वातावरण बनाउन माग गरिएको छ।
‘बाँस सत्याग्रह’ले राष्ट्रिय उत्पादन, स्वदेशी स्रोतको उपयोग र ग्रामीण अर्थतन्त्रका सवाल पुनः उठाएको भन्दै विभिन्न तहबाट चासो व्यक्त भइरहेको छ।












