फुर्वा गेल्जे शेर्पाको अध्यक्षीय उम्मेदवारी: पर्वतीय पर्यटनको नयाँ दृष्टिकोणसहित अगाडि
माउन्टेन टुरिजम युनिभर्सिटी’ को परिकल्पना,उत्कृष्ट तालिम र उद्धार संयन्त्रको खाका,जलवायु संकटमा पहाडमै समाधान खोज्ने अठोट अन्तर्राष्ट्रिय कीर्तिमानी पर्वतारोहीका लागि विशेष सम्मान
काठमाडौं–नेपाल पर्वतारोहण संघको आगामी निर्वाचनलाई लक्षित गर्दै पर्वतीय पर्यटन क्षेत्रका अनुभवी व्यक्तित्व फुर्वा गेल्जे शेर्पाले अध्यक्ष पदमा औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। सोमबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा “पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बर्द्धनका लागि मेरो उम्मेदवारी” भन्ने नारासहित उनले आफ्नो अभियानको सुरुवात गरे।
शेर्पाले संघको आगामी निर्वाचन भदौ ७ गते राष्ट्रिय प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने जानकारी गराउँदै, आफ्नो उम्मेदवारी योजनाबद्ध र दीर्घकालीन सोचमा आधारित भएको बताए।


शेर्पाको उम्मेदवारी घोषणाको सबैभन्दा चर्चित पक्ष भनेको ‘माउन्टेन टुरिजम युनिभर्सिटी’ स्थापना गर्ने योजना हो। उनका अनुसार, हिमालसम्बन्धी उच्चस्तरीय अध्ययन र तालिमका लागि नेपालमै एक समर्पित विश्वविद्यालय खडा गर्नु अबको आवश्यकता हो।
“विदेशिएर ज्ञान लिइरहेका हाम्रा युवा नेपालमै अध्ययन गर्न सक्ने भए, देशभित्रै रोजगारी र आम्दानीको अवसर बढ्न सक्छ,” शेर्पाले भने।
पर्वतीय क्षेत्रमा दुर्घटना व्यवस्थापनको चुनौतीलाई सम्बोधन गर्दै, शेर्पाले रेस्क्यु प्रणाली सुधार गर्ने, तालिम केन्द्रहरूलाई एकीकृत गर्दै अन्तर्राष्ट्रिय स्तरको पर्वतारोहण तालिम केन्द्र निर्माण गर्ने योजनाको खाका सार्वजनिक गरे। थामे, कोङबुचे, पोर्चे, मनाङ लगायतका क्षेत्रमा रहेका तालिम केन्द्रहरूलाई संघमार्फत समन्वय गरी स्तरीय बनाउने उनले प्रतिबद्धता जनाए।



हिमाली क्षेत्रमा देखिएका वातावरणीय समस्यालाई लिएर शेर्पा शहरी क्षेत्रमै सीमित कार्यक्रमको आलोचक छन्। उनले हिमाली जनजीवनलाई प्रत्यक्ष असर गर्ने जलवायु परिवर्तनको चुनौती समाधानका लागि स्थानीय पर्वतारोही र समुदायसँगै योजनाबद्ध कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाए।
शेर्पाको दृष्टिकोण अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा बढाउनेतर्फ पनि केन्द्रित छ। उनले विश्व कीर्तिमान राखेका नेपाली पर्वतारोहीहरूलाई अन्तर्राष्ट्रिय विमानस्थलहरूमा विशेष सुविधा दिने पहल गर्ने बताए। यसले केवल ती व्यक्तिहरूको सम्मान मात्र होइन, समग्र राष्ट्रको गौरव बढाउने उनले दाबी गरे।
उम्मेदवारको पृष्ठभूमि
सोलुखुम्बुस्थित खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा जन्मेका फुर्वा गेल्जे शेर्पा सन् १९९९ देखि पर्वतारोहण संघसँग आबद्ध छन्। संघमा कार्यसमिति सदस्य र विदेश विभाग प्रमुखका रूपमा काम गरिसकेका उनले ६ हजार मिटरभन्दा अग्ला हिमालहरू आरोहण गरिसकेका छन्।
हालसम्म सगरमाथा नचढे पनि, उनले पर्वतीय पर्यटन, उद्धार र समन्वयमा लामो अनुभव बटुलेका छन्। शेर्पा भन्छन्, “संघको नेतृत्व सम्हालेर अब त्यो अनुभवलाई संस्थागत सुधार र नवप्रवर्तनमा रूपान्तरण गर्न चाहन्छु।”












