हङकङमा ‘समर टेनिस लेसन फर द युथ’ सुरु: नेपाली बालबालिकालाई निःशुल्क प्रशिक्षण – Sagarmathapana:: Online News Portal

हङकङमा ‘समर टेनिस लेसन फर द युथ’ सुरु: नेपाली बालबालिकालाई निःशुल्क प्रशिक्षण

   २०८२ श्रावण १३ गते  

काठमाडौं-हङकङमा अध्ययनरत नेपाली बालबालिकाको ग्रीष्मकालीन बिदालाई सिर्जनात्मक ढंगले प्रयोग गर्ने उद्देश्यले ‘नेप्लिज टेनिस सोसाइटी’ले ‘समर टेनिस लेसन फर द युथ’ कार्यक्रम सुरु गरेको छ। जुलाईदेखि अगस्ट अन्तिमसम्म चल्ने उक्त कार्यक्रममा ९ देखि १६ वर्ष उमेर समूहका करिब दुई दर्जन नेपाली बालबालिकाले सहभागिता जनाएका छन्।


कार्यक्रमको औपचारिक उद्घाटन गत आइतबार जोर्डनस्थित इन्डिया क्लबको टेनिस कोर्टमा सम्पन्न भयो। चिमसा चोई वेस्ट केयर टिमको प्रमुख आयोजना तथा इन्डिया क्लब र हङकङ नेप्लिज टेनिस सोसाइटीको सहकार्यमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।

उद्घाटन कार्यक्रममा याउचि मङ जिल्ला पार्षद् अरुणा गुरुङ, अलेक्स पुन, सहायक जिल्ला अधिकारी इङ्ग्रिड योङ, इन्डिया क्लबका अध्यक्ष नानु लक्ष्मण, बङ्गलादेश एसोसिएसन हङकङका सांस्कृतिक सचिव डा. बाबु फक्रुल इस्लाम, नेपाल चेम्बर अफ कमर्स हङकङका सल्लाहकार कुलप्रसाद गुरुङ, अभिभावकहरू, टेनिस सोसाइटीका पदाधिकारी तथा नेपाली बालबालिकाहरूको उत्साहजनक उपस्थिति थियो।

कार्यक्रममा पार्षद् अरुणा गुरुङ, अध्यक्ष नानु लक्ष्मण र टेनिस सोसाइटीका अध्यक्ष किशोर गुरुङले मन्तव्य राख्दै यस्तो किसिमको कार्यक्रमले नेपाली समुदायमा खेल संस्कृतिको विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। अतिथिहरूले टेनिस बल टस गरी कार्यक्रमको विधिवत् सुरुआत गरे।

कार्यक्रममा प्रशिक्षक विकास गुरुङ र शिवलाल सुवेदीले सहभागी बालबालिकालाई टेनिसका आधारभूत सीपहरू प्रदान गरिरहेका छन्। यद्यपि गत हप्ता सुरु गर्ने भनिएको कार्यक्रम टाइफुनको कारण एक हप्ता पछि सरेको थियो, सोसाइटीका सचिव टेकेन्द्र सुब्बाले जानकारी दिए।



सन् २०१० मा स्थापना भएको नेप्लिज टेनिस सोसाइटीले नेपाली समुदाय र अन्य अन्तरसमुदायबीच खेलमार्फत सम्बन्ध विस्तार गर्दै सामाजिक योगदान दिँदै आएको छ। यसपालि भने स्थानीय सरकारसँगको सहकार्यमा पहिलो पटक टेनिस प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो।

सचिव सुब्बाका अनुसार भविष्यमा अझ व्यापक सहकार्य गर्दै हङकङस्थित नेपाली समुदायमा ‘स्पोर्टिङ कल्चर’को जग बसाल्ने लक्ष्य राखिएको छ। टेनिस खेलले बालबालिकाको शारीरिक, मानसिक, सामाजिक र भावनात्मक विकासमा सघाउ पुग्ने विश्वास सोसाइटीले लिएको छ।

‘थ्रिएफ’ (Fitness, Fun, Friendship) भन्ने आदर्श बोकेको सोसाइटीले निकट भविष्यमै विभिन्न देशका खेलाडी सहभागी हुने ‘नेशन कप’ आयोजना गर्ने तयारीमा रहेको पनि जानकारी गराइएको छ।

कार्यक्रमको सञ्चालन सचिव टेकेन्द्र सुब्बाले गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै