रसुवागढी मितेरी पुल पुनर्निर्माण सुरु, भदौभित्र बेलीब्रिज निर्माण सम्पन्न हुने
रसुवा-नेपाल–चीनबीचको प्रमुख उत्तरी नाका रसुवागढीस्थित मितेरी पुलको पुनर्निर्माण कार्य सुरु गरिएको छ। गत असार २४ गते आएको भीषण बाढीले १० मिटर चौडाइ र १०० मिटर लम्बाइको उक्त पुलमा ठूलो क्षति पु¥याएको थियो।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अर्जुन पौडेलका अनुसार, पुल भत्किएपछि नेपाल–चीनबीचको आवतजावत र व्यापार पूर्ण रूपमा अवरुद्ध भएको छ। यसलाई शीघ्र सुचारु गर्न चीन सरकारले पहिलो चरणमा अस्थायी बेलीब्रिज निर्माण सुरु गरेको छ। हाल पुल निर्माणस्थलमा भुइँ सतह मिलाउने कार्य तीव्रगतिमा भइरहेको प्रजिअ पौडेलले जानकारी दिए।
उनका अनुसार पक्की पुल साविक स्थानभन्दा करिब दुई मिटर पूर्वतर्फ निर्माण गरिनेछ, जसले पुरातात्विक संरचनामा कुनै असर नपार्नेछ। चीनले आवश्यक औजार र उपकरणहरू रसुवागढीमा पुर्याइसकेको छ। हाल चारवटा स्काभेटर प्रयोग गरी ल्हेन्देखोलाको पानीलाई नियन्त्रणमा ल्याउने र सतह सम्याउने काम भइरहेको छ।
बेलीब्रिज निर्माण आगामी भदौ ३० गतेभित्र सम्पन्न गरिने जानकारी चीनबाट प्राप्त भएको प्रजिअ पौडेलले बताए। उता, रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार भवन भने हाल रोकिएको छ।












