सिंहदरबारभित्रै कर्मचारीहरू धर्नामा
काठमाडौँ। वृत्ति विकासलगायत विभिन्न माग राखेर सिंहदरबारभित्रै कर्मचारीहरू धर्ना बसेका छन्।
कृषि सेवाअन्तर्गतका कर्मचारीहरूले विभिन्न माग राखेर केही दिनदेखि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा धर्ना दिएका हुन्।
कर्मचारी समायोजन अध्यादेश २०७५ अनुसार सरकारले समायोजन हुन प्राथमिकताका आधारमा निवेदन दिने व्यवस्था थियो। सोहीअनुसार कृषि सेवाका सबै कर्मचारीहरुले आवेदन दिएका थिए। निवेदन नदिएको कारण समायोजनमा बाधा नपर्ने भएकोले निवेदन नदिएको वा जहाँ रोजेको भए पनि नियमानुसार समायोजन भएको थियो। समायोजन गर्दा कर्मचारीले अनलाइन प्रणालीमा प्राथमिकता तय गर्न सक्ने प्रावधान रहेको र सोहीअनुरुप कृषि क्षेत्रका समूहहरुले पनि प्राथमिकता राखी समायोजन भएको थियो।
संघमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषि तर्फका थप समायोजन भएको जनशक्ति रहेको ३२८ जना समेतको स्थायी दरवन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुने व्यवस्था गर्नुपर्नेजस्ता माग राखेर कर्मचारी आन्दोलनमा छन्।
उनीहरूले संघमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषि तर्फका प्राविधिक कर्मचारीहरुको न्यायोचित वृत्ति विकास सुनिश्चित हुनुपर्ने र कृषि सेवाको कृषि तर्फका समूहको हकमा सर्वोच्च अदालतबाट रिक्त रहेको पदमा पदपूर्ति हुन भएको परमादेश कार्यान्वयन हुनुपर्ने माग पनि राखेका छन्।
संविधान र कार्यविस्तृतीकरण प्रतिवेदनमा उल्लेख भएअनुसार संघीय निकायको कार्यविवरणको आधारमा उपयुक्त संगठनात्मक संरचना निर्माण गर्नुपर्ने माग पनि उनीहरूको छ।












