सेजनद्धारा आर्थिक पत्रकारीता किताब प्रकाशन
काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज सेजनले आर्थिक पत्रकारिता सम्वन्धी हाते किताब प्रकाशित गरेको छ । नेपाल संघीयतामा गएपछि संघसँगै प्रदेश र स्थानीय तहसम्म आर्थिक क्षेत्रलाई पत्रकारिताको विधाको रुपमा विकास गर्ने उद्देश्यसहित सेजनले पुस्तक प्रकाशन गरेको हो । एक कार्यक्रमबीच बुधबार अर्थमन्त्री जनार्दन शर्माले पुस्तकको विमोचन गरे ।
आर्थिक क्षेत्रका सबैजसो विधा समेटर ल्याइएको पुस्तक १४ अध्यायमा विभाजन गरिएको छ । जसमा अध्याय एकदेखि सातसम्म आर्थिक पत्रकारिताको परिचय, समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति र यसका उपकरण, ऋणपत्र बजारको रिपोर्टिङ्, बीमा क्षेत्र, संघीयता र अर्थतन्त्र राखिएको छ । त्यस्तै अध्याय आठदेखि १४ सम्म पूर्वधार निर्माण, आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापार, निजी क्षेत्रको रिपोर्टिङ, श्रम सम्वन्धी रिपोर्टिङ, भ्रष्टाचार सम्वन्धी रिपोर्टिङ्, आर्थिक पत्रकारितामा अंक र आर्थिक पत्रकारितामा आचारसंहिता राखिएको छ ।
विश्व बैंकको सहयोगमा प्रकाशन गरिएको यो पुस्तक आर्थिक विषयवस्तु सहज बनाउनुका साथै सैद्धान्तिक पक्षसँगै उदाहरण तथा पत्रकारले बुझ्नुपर्ने मुद्दा र प्रश्नहरू समावेश गरिएको छ । पुस्तक तयार पार्नको लागि अर्थ तथा पत्रकारिता क्षेत्रका अनुभवी व्यक्तिहरू प्रेम खनाल, हरिबहादुर थापा, सेजनका निवर्तमान अध्यक्ष पुष्पराज आचार्य, सेजन अध्यक्ष भीम गौतम र पत्रकार यज्ञ बन्जाडेको मुख्य भूमिका रहेको सेजनले जनाएको छ ।












