विजय बरालले उत्कृष्ट अभिनेता पुरस्कार जितेपछि भावुक हुँदै भने–“यो अवार्ड मेरो मात्रै होइन,सबैको हो”
काठमाडौं-लोकप्रिय अभिनेता विजय बरालले राष्ट्रिय चलचित्र पुरस्कार २०८२ अन्तर्गत उत्कृष्ट अभिनेता पुरस्कार जितेका छन्। निर्देशक भूपेन्द्र अधिकारीको फिल्म ‘खुस्मा’ बाट दमदार अभिनय प्रस्तुत गरेका बरालले पुरस्कार जितेपछि भावुक अभिव्यक्ति दिएका छन्।
पुरस्कार समारोहमा बरालले भने, “यसबेला म सम्झिरहेको छु, मण्डलाको त्यो पुरानो मञ्च जहाँ अभिनयको पहिलो पाईला चालेको थिएँ । डराउँदै, अत्तालिदै र आफैभित्र उत्साह संगालेर ।”
बरालले अभिनय यात्राको सुरुवातदेखि आजसम्म आफूलाई साथ, हौसला र प्रेरणा दिने सबैलाई सम्झिएका छन्।
उनले भने,
“मन नै त्यो यस्तो ठाउँ रहेछ, जहाँ सबैको सम्झना र याद एकैपटक संगाल्न सकिनेरहेछ । ताते गर्दादेखि आजसम्मको यात्रामा भेटिनुभएका सबैलाई म एकैपटक सम्झिरहेको छु ।”
बरालले यो पुरस्कार आफ्नो व्यक्तिगत सफलता मात्र नभई आफूलाई माया गर्ने, साथ दिने सबै दर्शक, सहकर्मी, र गुरुहरूको पनि भएको बताए।
“यो मेरो जीवनकै पहिलो अवार्ड । तर यो अवार्ड मेरो मात्रै अवार्ड भएको छैन । यो तपाईहरू सबैको अवार्ड हो । तपाईहरू सबैको हिस्सा संगालेर आफ्नो छातीमाझमा यो अवार्ड राखिरहेको छु ।”
भावनात्मक हुँदै उनले थपे,
“यतिखेर मनभरि खुसी छ, आँखा रसाएका छन्, मुस्कुराउदा मुस्कुराउदै रोकिएर भावुक बनेको छु । यो म मात्र होइन, तपाईहरूको माया, उत्प्रेरणा, र साथको बिजय हो ।”
बरालको यो अभिव्यक्ति सामाजिक सञ्जालमा पनि निकै भाइरल भइरहेको छ। उनलाई बधाइ दिने कलाकार, निर्देशक, र दर्शकहरूको ओइरो लागिरहेको छ।













