अपाच्य तीज गीतविरुद्ध साइबर ब्युरोमा दोहोरी प्रतिष्ठानको उजुरी – Sagarmathapana:: Online News Portal

अपाच्य तीज गीतविरुद्ध साइबर ब्युरोमा दोहोरी प्रतिष्ठानको उजुरी

   २०८२ असार ३० गते  

काठमाडौं-सांस्कृतिक मर्यादा र लोकसंगीतको प्रतिष्ठा जोगाउने उद्देश्यले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल प्रहरीले सञ्चालन गर्दै आएको साइबर ब्युरोमा पुगेको छ।

आइतबार दिउँसो प्रतिष्ठानको अध्यक्ष रिता थापा मगरको नेतृत्वमा एक टोलीले पछिल्लो समय तीजका नाममा सार्वजनिक भएका पाँचवटा अपाच्य तथा उच्छृङ्खल गीतविरुद्ध साइबर ब्युरोमा लिखित उजुरी दिएको हो।

प्रतिष्ठानका महासचिव शिव हमाल, सचिव पुष्कल शर्मा, तथा रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी लगायतका कलाकारहरूको उपस्थितिमा सो उजुरी दर्ता गरिएको थियो।

प्रतिष्ठानले पछिल्लो समय सार्वजनिक तीज विशेष गीतहरूमा सामाजिक मूल्य, मर्यादा, सहिष्णुता र सांस्कृतिक संस्कारमा आघात पुर्‍याउने खालका शब्द र दृश्य प्रस्तुत भएको भन्दै चिन्ता व्यक्त गरेको छ।

अध्यक्ष रिता थापा मगरले भनिन्, “पहिले हामीले सम्झाउने नीति अपनाएका थियौं, केही कलाकारले गल्ती महसुस गरेर सच्चिए पनि केहीले अटेरी गरेकाले प्रहरी प्रशासनमा उजुरी दिनुपरेको हो।”

गृहमन्त्रीको प्रतिबद्धता: अपाच्य गीतमा कडाइ गरिने

यसअघि प्रतिष्ठानको टोलीले गृहमन्त्री रमेश लेखकसँग भेट गरी यस्ता विकृत गीतहरू रोक्न सरकारको ध्यानाकर्षण गराएको थियो।

गृहमन्त्री लेखकले साइबर ब्युरोमा यस्ता सांस्कृतिक अपराध हेर्ने छुट्टै फोकल पर्सन तोकिने र आवश्यक कारबाही गरिने बताएका थिए।उनले भनेका थिए, “गीतमा अश्लिलता, जातीय घृणा वा अपमानजनक अभिव्यक्ति भए साइबर ब्युरोले कारबाही गर्छ, त्यसका लागि सूचना दिनुस्।”

प्रतिष्ठानले साइबर ब्युरोमा बुझाएको उजुरीमा तीजको नाममा भर्खरै सार्वजनिक भएका पाँचवटा उच्छृङ्खल गीतहरूको नाम र सम्बन्धित कलाकारहरूको विवरण समावेश गरिएको छ।

यस विषयमा राष्ट्रिय लोक सञ्चारकर्मीको टिमले पनि गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउँदै यस्ता गीतहरूले समाजमा गलत सन्देश प्रवाह गरिरहेको भन्दै तत्काल रोक्न माग गरेका छन्।

चलचित्रलाई सेन्सर,तर गीत–संगीत र म्युजिक भिडियोलाई किन छैन?

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै