मेनु
Flash News

चलचित्रलाई सेन्सर,तर गीत–संगीत र म्युजिक भिडियोलाई किन छैन?

काठमाडौं।नेपालमा चलचित्र प्रदर्शन अघि चलचित्र सेन्सर बोर्डले गहिरो जाँच गर्छ—दृश्य हटाइन्छ, संवाद फेर्न भनिन्छ, कहिलेकाहीँ त प्रदर्शनमा नै रोक लगाइन्छ कारण एउटै हुन्छ: “समाजमा नकारात्मक असर पर्नसक्छ।”

तर यस्तै प्रभाव पार्न सक्ने गीत–संगीतम्युजिक भिडियोहरू भने अघोषित रूपमा ‘स्वतन्त्र’ र ‘नियमनबिहीन’ छन्। प्रश्न उठ्छ—किन?चलचित्र २ घण्टा मात्र हेर्छौँ, तर गीत बारम्बार सुन्छौँ। चलचित्र हेर्न सिनेमा हल पुग्नुपर्छ, तर गीत त मोबाइल, रेडियो, टिकटक, युट्युब, जहाँतहीँ भेटिन्छ,चलचित्रभन्दा गीतले द्रुत प्रभाव पार्छ—शब्द र भाका सिधै मनोविज्ञानमा पुग्छ।

 तर आजको यथार्थ के छ? गालीगलौज, अश्लील इशारा, उत्तेजक शब्द र दृश्यले भरिएका गीतहरू खुलेर बजारमा छन्।तीज, भोजपुरी प्रभाव, ड्रिंक संस्कृतिको महिमा, लफङ्गपनको प्रोत्साहन—सबै प्रकारका विकृत प्रस्तुति सार्वजनिक भइरहेका छन्।कतिपय गीतहरूले त विशेष जात, वर्ग वा समुदायमाथि प्रहार समेत गरेका छन्।अधकचरा शब्द र दृश्य सार्वजनिक हुँदै गर्दा, गीतकारहरू र्‍याप-श्याप,‘हिट बनाउने कला’ भनेर ढुक्क छन्।

अनि नियन्त्रण? चलचित्रमा दृश्य काट्न आदेश आउँछ तर, गीतमा जति अश्लील शब्द हाल्दा पनि कोही केही भन्दैन।कसैको स्वाभिमानमा आच आउन सक्छ, बालबालिकाको सोच विकृत हुन सक्छ, तर जिम्मेवार निकाय मौन छन्।

प्रश्नहरू:
चलचित्रले मात्र समाजलाई असर गर्छ र? गीत–संगीत गर्दैन? सेन्सर बोर्डको काम केवल सिनेमाको लागि मात्र हो? संस्कृति, नैतिकता र सामाजिक मर्यादा गीतबाट पनि बिग्रन सक्छ भन्ने सरकारले देख्दैन?समाधान के हो? गीत–संगीत सेन्सर बोर्ड गठन गरिनुपर्छ। म्युजिक भिडियोहरू युट्युबमा सार्वजनिक हुनु अघि फिल्टर प्रणाली लागू गरिनुपर्छ,चाडपर्व, संस्कृति, नारी विषयका गीतहरूमा विशेष मूल्यांकन अनिवार्य हुनुपर्छ,डिजिटल प्लेटफर्ममाथि निगरानी राख्न सूचना प्रविधि मन्त्रालयले जिम्मा लिनुपर्छ।

“कलाको स्वतन्त्रता” भन्ने नाममा समाजमा विष घोलिने छुट कसैलाई दिन मिल्दैन चलचित्रलाई मात्र सेन्सर गर्नु न्यायपूर्ण छैन।गीत, संगीत र भिडियो पनि त्यत्तिकै प्रभावशाली माध्यम हुन्।अतः अब समय आएको छ —गीत–संगीतमा पनि सेन्सर प्रणाली लागू गर्ने।

“चलचित्रको दृश्यले असर गर्छ भने गीतका शब्दले नगर्ने?”“किन एउटै मापदण्ड सबैका लागि होइन?”

समाजले प्रश्न गरिरहेको छ, सरकार के सुनिरहेको छ?