काम नलाग्ने दर्जनौँ कानुन खारेज गर्नुपर्छ : कांग्रेस महामन्त्री गगन थापा
काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको आर्थिक सुधारको मार्गमा अवरोध बनेका दर्जनौँ काम नलाग्ने कानुनहरू खारेज गर्नुपर्ने बताएका छन्।
मंगलबार काठमाडौंमा कांग्रेसको केन्द्रिय आपूर्ति तथा उपभोक्ता विभागले आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङ्खलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले कानुनी सुधार अत्यावश्यक भएको बताएका हुन्।
“हामीसँग धेरै पुराना, अप्रासंगिक कानुन र कार्यविधिहरू छन्, जसले विकासलाई अवरोध गरिरहेका छन्,” थापाले भने, “यी खारेज गरेर नयाँ सोच र संरचना अनुरूपको कानुनी व्यवस्था आवश्यक छ।”
महामन्त्री थापाले ९० को दशकमा सुरु गरिएको आर्थिक सुधारको अभियान फेरि अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। उनले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग सो विषयमा छलफल गरेको जानकारी पनि दिए।
थापाले कानुनी संरचनामा सुधारको पहिलो चरण सुरु भइसकेको जनाउँदै दोस्रो चरणको प्रक्रिया केही दिनमै सुरु हुने बताएका छन्।
उनले भने, “कांग्रेस–एमाले मिलेर सरकार चलाउँदा त्यसको प्रत्यक्ष लाभ जनताले पाउनुपर्छ, तबमात्र गठबन्धनको अर्थ हुन्छ।”












