फेरि पनि हामीले आफ्नो गल्तीको समिक्षा गर्ने अवसर नआओस् !

महेन्द्र मैनाली ‘प्रभाष’
जिम्मेवार नागरिक बनौ,
आफ्नो अभिमतको आफै सदुपयोग गरी उदाहरणीय समाज निर्माण गराैंं ।
आजको समय पूरा देश स्थानीय निर्वाचनको माहोलले तरंगिएको अवस्थामा छ । घर घर, टोल टोल, बस्ती बस्ती, चिया पसल, चौतारा, कुना कुनाको जमघटमा निर्वाचनकै चर्चा परिचर्चा चलिरहेको छ भने अर्कोतिर नेताहरु आफ्नो आसेपासे भरौटे, पछौटे, कुरौटे, बिचाैलियाहरुलाई कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा प्रतिस्पर्धा गरिरहे झैँ लाग्छ।
अर्कोतिर कार्यकर्ता नेताको चाप्लुसी, गुलामी, दलाली गर्दै तलुवा बनेर टिकट लिने प्रतिस्पर्धामा लागिरहेका हुन्छन् । समग्रमा हेर्दा जो जसले जति माथिल्लो नेताहरुलाई प्रभाव पार्न सक्यो उसैले स्थानीय निकायको टिकट लिएर उम्मेद्वार बनेको इतिहास बिगतदेखि भइ आएको हुँदा पनि आजसम्म त्यही क्रम जारी रहेको अवस्था छ ।
अहिले वर्तमान पनि त्यही नै देखियो केही फरक छैन । अहिले उम्मेद्वारी दर्ताले प्रष्ट नै पारि दिएको छ । यही तरिकाले पैसा र बलको आडमा चुनाव जित्ने परिपाटीको संस्थागत विकासले भ्रष्टताको जग बनाउने हो । विगतलाई हेरौँ र आजलाई तुलना गरौं फरक चाहिँ के छ त ?
फरक यति मात्रै छ कि घोषणापत्र, तिनमा लेखिएको चिल्ला कुराहरु ठुला ठुला नाराबाजी विगतमा भन्दा चर्को स्वरले एकले अर्कोलाई विरोध गर्ने प्रकृति यहाँ हरेक पार्टीको घोषणापत्रमा उमेद्वारको चिल्ला भाषण सुन्ने हो भने छुट्याउनै सकिँदैन को चाहिँ सही छ भनेर । सुन्दा सबै सही लाग्छ । हामीले विगतका व्यवहारलाई मूल्यांकन गरेर आजको अवस्थाको अध्ययन गर्नु जरुरी छ।
विगतमा कसले कति अभिमतको कदर गरे, जितकर्ता प्रतिद्वन्द्वी दुबैले अभिमत पाएकै थिए । अभिमतको कदर गरी कसले कुन भुमिका निभायो ? मुल्यांकन जरुरी छ । यहाँ सबै कुरा घोषणामा मात्रै सिमित भइरहेको छ । जनता गाँस, बास र कपास रोजगारीको निम्ति भौतारिएको अवस्था छ । समाजका युवाहरु विदेशिन बाध्य छन् । विकासको हर कुरामा भ्रष्ट फटाहाहरुको अवरोध छ । बस्तुगत अवस्था भनेको आसेपासे, भरौटे,अरौटे, कुरौटे र बिचौलियाको चङ्गोल भित्र स्थानीय निकाय पनि भष्टताको जालो भित्र जेलिएको अनुभव हामीले प्रष्ट देखिरहेका छाैं ।
यही नै तितो सत्य हो । नेतृत्वमा पारिवारिक सत्ता भोगी मोहको विचलन सत्ता लिप्त भ्रष्ट मानसिकता दरिद्र सोच दलाली चाप्लुसीपनको कारण सिंगो संगठनकाे अवस्था नै बदनाम र कमजोर बनिरहेको छ । इमान्दार कार्यकर्तामा संगठनप्रति हिनताबोध हुनु जसको कारण सतहदेखि उचाइसम्मका अवस्था धरासायी नै छ । आम जनमानसले बिश्वास गर्न लायक कुनै पार्टी संगठन नै नभए जस्ताे लाग्छ ।
यहाँ सत्ताका निम्ति हुने हरेक खाले अवसरवादी प्रवृत्ति र तिनका गुटबन्दी तलुवा चरित्रका कारण भएका घिनलाग्दा खेलहरु र सत्तामा बसेकाहरुले आफ्नो सत्ता टिकाउनको निम्ति विदेशीहरुको सामु लम्पसार परी सिंगो राष्ट्रकाे स्वभिमान गिराउँदै अनेकौ सन्धी सम्झौता गरी विदेशी प्रभुहरुको सामु परेको लम्पसार र निजी स्वार्थ र प्रलोभनको प्रभावमा परी गरेको राष्ट्रघातको कारण यहा नेतृत्वहरुलाई सम्मान गर्ने आधारनै भेटिदैन । सबैको कुरैमा सिमित छ । व्यवहार भ्रष्ट र भ्रष्टताको पृष्ठपोषण नै देखिन्छ । अपराध, अपराधी, फटाहा, तस्कर दलाली बिचौलिया माफियाहरुको बचाउको अग्रपंक्तीमा जनप्रतिनिधिहरु उभिएको देखिन्छ ।
यो सत्य हो, पदीय मर्यादालाई भुलेर जनताको अभिमतको दुरुपयोग गर्दै ब्यक्तिगत निजी स्वार्थका निम्ति जनघात गर्नेहरुकै समाजमा हालीमुली बढ्दाे छ । हामी यही सहजै स्वीकार गर्छौं, विरोध गर्ने हिम्मत गर्दैनौं । यही कमजोरीको फाइदा सामाजिक फटाहाहरुले लिने गरेका छन् । यसकारण विगतदेखि आजसम्म भएका संघर्षको बलिदानी इतिहासलाई दुरुपयोग गर्दै निजी स्वार्थ पूरा गर्ने फटाहाहरुको प्रवृत्तिबाट समाज सजग रहनु जरुरी छ । हामी राष्ट्र राष्ट्रियता र स्वाभिमानको रक्षाको कुरा गर्छौं, फेसबुकमा स्टाटस् लेख्दै विरोध गर्दछौं । ठुला ठुला कुरा गर्छौं तर हामीले कहिल्यै आफ्ना कमजोरीहरुलाई समिक्षा गर्ने गरेका छैनौं, मात्र राजनीतिप्रतिको वितृष्णा नेताहरुमाथि तिरस्कार गर्न बाहेक केही जानेनौ, विरोधमाथि विरोध गर्ने नै हाम्रो चरित्र संस्कार बनिसकेको छ ।
हामीले यो बुझेनौं की यि सबै अपराधको पहिलो जग हामी आफै हौं । गोडमेल मलजल गरेर हुर्काउने पनि हामी आफै हौं, अनि विरोध गर्ने पनि हामी नै हौं यो त हाम्रो मानसिकता नै बनिसकेको छ । हामीले यो मानसिकतालाई नै तोड्नु छ, व्यवहार र आचरणलाई परिवर्तन गर्नुछ । अब आफू आफैलाई समिक्षा गरी आत्मालोचना गरेर एक समाजको जिम्मेवार नागरिक स्थापित गराउनुपर्नेछ । सबै खाले राष्ट्रघाति अपराध, अपराधि, भ्रष्ट, भ्रष्टाचारी, दलाली, घुषखोरी, तलुवा चाप्लुसी, अरौटे, भरौटे, कुरौटे, बिचौलिया, फटाहा, तस्कर, माफियाहरूकाे जगनै भत्काउनु छ र सत्य, शिष्ट, सुसंस्कृत विकसित, आधुनिक समाज निर्माण गर्नुछ भने त्यसको पहिलाेको आधार हामी जनता हौं ।
हामीसँग सबै भन्दा ठुलो शक्ति हाम्रो मताधिकार छ । हामीले यो देखाउनु छ की नेता होइन नेता बनाउने जनता नै शक्तिशाली हुन्, समाज शक्ति हो, कार्यकर्ता पार्टीको शक्ति हो भने जनता सिंगो राष्ट्रको शक्ति हो । राष्ट्र निर्माणमा सबैभन्दा ठुलो हात हामी जनताको हुन्छ ।
जनप्रतिनिधि कारिन्दा हुन् राष्ट्रको असली मालिक जनता नै हो । त्यसकारण, नजिकै आइरहेको स्थानीय निर्वाचन नै राष्ट्र निर्माणको पहिलो जग हो । हामीले पार्टी नीति नियम सिद्धान्त घोषणापत्रको लाइनहरुभन्दा सच्चा इमान्दार समाजप्रति बफादारी जनताको निम्ति आफूलाई समर्पण गर्न सक्ने म र मेरो निजी स्वार्थभन्दा माथि उठेर हामी र हाम्रो समाजको निम्ति योगदान गर्न सक्ने असल फराकिलो सामाजिक सोच व्यवहार स्वभाव र चरित्र पृष्ठभुमि भएको समाज बुझेको सामाजिक विकासको खाका बोकेको ब्यक्ति उम्मेद्वारलाई हामीले अमूल्य अभिमत दिएर नेतृत्व प्रदान गर्न सकेउ भने अवश्यै स्वस्छ, विकशित आधुनिक समाज निर्माण गराउन सक्छौं भनिन्छ।
जग बलियो भए घर बलियो हुन्छ, राष्ट्र निर्माणको पहिलो जग भनेकै समाज हो स्थानीय निकाय हो। त्यसकारण विगतदेखि आजसम्मको अनुभवलाई मूल्यांकन गर्दै स्वविवेकलले गहिरो अध्ययन गरी आफ्नो अभिमतको आफैले कदर गर्ने प्रयास गरौं । फेरि पनि हामीले आफ्नो गल्तीको समिक्षा गर्ने अवसर नआओस् हामी आफै सजग हुन सक्याैं भने अवसर लुट्ने अवसरवादीहरु आफै परास्त्र भएर जानेछ।
गल्ती गर्नेहरुलाई सुधार्ने सबैभन्दा शक्तिशाली हतियार नै हाम्रो अभिमत हो यसलाई कुनै विचौलिया फटाहा अवसरवादी तस्करको गलत प्रभावमा पर्न नदिऔं । यदि हामीनै गलत प्रमावमा परी अभिमत बेच्ने अपराध गर्याैं भने सबैभन्दा ठुलो अपराधी हामी हौं। कसैलाई विरोध गर्ने नैतिकता हामीसँग रहँदैन । नैतिकता हराएको ब्यक्ति गैर जिम्मेवार हो, जसको कुनै सामाजिक प्रतिष्ठा रहँदैन।
त्यसकारण, समाजको प्रतिष्ठित जिम्मेवार नागरिक बन्ने प्रयास गर्याैं भने जिम्मेवार नेतृत्व दिन सक्छौं । उदाहरणीय समाज बनाउन सक्छौं । हामीले कुनै विरोध गरी रहनु पर्दैन । राज्यले हरेक ५ वर्षमा नेतृत्व चुन्ने जिम्मेवार र अवसर हामीलाई दिएको छ यही बैशाख ३० गते । विगत ५ वर्षपछिको ऐतिहासिक इतिहास निर्माण गर्ने महत्वपूर्ण दिन समाजको भविष्य निर्माण नेतृत्व चुन्ने यो महत्वपुर्ण अवसरलाई सही तरिकाले सदुपयोग गरौं । आफू पनि जिम्मेवार बनौं अरुलाई पनि जिम्मेवार बन्ने प्रोत्साहन गरौं । स्थानीय निर्वाचन सभ्य र भव्य तरिकाले सम्पन्न पारौं । आफ्नो गाउँ आफै बनाऔँ भन्ने अभियानलाई आत्मसाथ गरी स्थानीय निकाय स्थानीय स्रोत साधन संस्कार संस्कृति परम्परा हाम्रो राष्ट्रिय स्वाभिमानको धरोहर खम्बा हो, यसलाई बलियो बनाउने प्रयास गरौं।
त्याग, समर्पण, बलिदानी इतिहासको कदर गरौं,
इतिहासको पानालाई सुरक्षित राखौं, स्थानीय निर्वाचन सफल पाराैं।