धनतेरस अर्थात् धन त्रयोदशी पर्व मंगलबार नै
काठमाडौं : बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले धनतेरस अर्थात् धन त्रयोदशी पर्व मंगलबार नै मनाइँदैछ।
तिहार शुरु हुनुभन्दा अघिल्लो दिन आज सुन र चाँदीका गहना वा सिक्का तथा तामा-पित्तललगायत धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राख्ने चलन छ। यो दिन नयाँ गहना वा भाँडा किने घरमा सधैँ लक्ष्मीको बास हुन्छ भन्ने विश्वास छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शुरु हुने शास्त्रीय नियम छ।
कार्तिक कृष्ण त्रयोदशीकै दिन मनाइने कागतिहार भने बुधबार परेको छ। त्रयोदशीकै साँझ गरिने यमदीपदान बुधबार साँझ गरिँदैछ।












