साफ महिला च्याम्पियनसिप-२०२४ – नेपाल भुटानसँग गोलरहित बराबरीमा
काठमाडौँ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको साफ महिला च्याम्पियनसिप-२०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ ।
खेलमा नेपालले करिब दर्जन अवसर सदुपयोग गर्न नसक्दा भुटानसँग अंक बाँडेको हो । साफ महिला च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलोपटक कुनै पनि टिमसँग बराबरीमा रोकिएको हो ।
यसअघिका ६ संस्करणमा नेपालले खेलेका कुल २७ खेलमध्ये २१ मा जित र ६ खेलमा हार ब्यहोरेको इतिहास छ । खेलमा अधिकांश समय बलमाथि नियन्त्रण बनाएको नेपालका लागि खेलको २३औँ मिनेटमा रश्मीकुमारी घिसिङले गोलको सुन्दर अवसर सदुपयोग गर्न सकिनन् ।

भुटानको पेनाल्टी बक्समा पाएको बल उनले नियन्त्रणमा राखे पनि प्रहारका लागि केही समय लिँदा भुटानी गोलकिपरले खतरा टारिन् । खेलको २४औँ मिनेटमा पुनः रश्मीले अवसर सदुपयोग गर्न सकिनन् । यसपटक पनि रश्मीले प्रहारका लागि समय लिँदा उनको प्रहारले जाली चुक्न सकेन ।
त्यसको दुई मिनेटपछि नेपालले अर्को अवसर सदुपयोग गर्न सकेन । प्रिति राईले निकालेको थ्रु बलमा सरु लिम्बुले पेनाल्टी बक्सबाट गरेको प्रहार आकासियो । खेलको ४०औँ मिनेटमा नेपालले अर्को गोलको अवसर खेर फाल्यो । रश्मीले दायाँ साइडबाट दिएको क्रसलाई अमिशा कार्की र सविता रानाले प्रयास गरे पनि गोल गर्न भने सकेनन् ।
दोस्रो हाफमा पनि नेपाली करिब आधा दर्जन सुन्दर अवसरलाई गोलमा परिणत गर्न सकेन । इन्जुरी समयमा सविता राना मगरले बक्स बाहिरबाट गरेको प्रहार पोस्टमा लागेर बाहिँरिदा नेपाल अग्रता लिनबाट चुक्यो ।
बराबरीसँग समूह ‘बी’ मा रहेका नेपाल र भुटानले समान एक अंक जोडेका छन् । समूह ‘बी’ को अर्को खेलमा माल्दिभ्सलाई श्रीलंकाले १-० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।












