EN
मेनु
Flash News

प्रधानमन्त्रीको भारत भ्रमणअघि मन्त्रिपरिषद् बैठक बस्दै, सीमा समस्या र व्यापार घाटा प्राथमिकतामा

काठमाडौं।प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारीलाई अन्तिम रूप दिन सरकारले आज मन्त्रिपरिषद् बैठक बोलाएको छ। बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा भ्रमणका क्रममा उठाइने एजेन्डा र द्विपक्षीय सहकार्यका विषयमा महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।

आगामी मङ्सिर ६ र ७ गते हुने भारत भ्रमणका क्रममा नेपालले राष्ट्रिय हितसँग सम्बन्धित विभिन्न विषय भारतसमक्ष उठाउने तयारी गरेको छ। विशेषगरी नेपाल–भारत सीमा समस्या, व्यापार घाटा न्यूनीकरण, पूर्वाधार विकास तथा आपसी आर्थिक सहकार्यका विषयलाई प्राथमिकतामा राखिएको छ।

भ्रमणका क्रममा दुई देशबीच विभिन्न सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारीसमेत भइरहेको छ। त्यसका लागि तयार पारिएका प्रस्ताव, आधिकारिक भ्रमण एजेन्डा र कूटनीतिक प्राथमिकताबारे आजको मन्त्रिपरिषद् बैठकमा विस्तृत छलफल हुने बताइएको छ।

सरकारले प्रधानमन्त्री शाहको भ्रमणलाई दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने अवसरका रूपमा लिएको छ। विगत केही दिनदेखि सम्बन्धित निकायसँग निरन्तर छलफल र गृहकार्य भइरहेको छ। भ्रमणलाई उपलब्धिमूलक बनाउँदै द्विपक्षीय सम्बन्धलाई बहुआयामिक सहकार्यतर्फ अघि बढाउने सरकारको प्रयास छ।

यसैगरी, भ्रमण टोलीमा रहने सदस्यहरूको नाम अन्तिम गर्ने तथा सरकारका समसामयिक प्रशासनिक र नीतिगत विषयमा पनि बैठकले निर्णय लिन सक्ने अपेक्षा गरिएको छ।