EN
मेनु
Flash News

अल्टरनेटिभा फिल्म फेस्टिभल २०२७ का लागि आवेदन खुला

काठमाडौं।सामाजिक विषयवस्तु र सकारात्मक परिवर्तनका कथालाई प्रोत्साहन गर्दै आएको ‘अल्टरनेटिभा फिल्म फेस्टिभल’ (एएफएफ) को चौथो संस्करणका लागि आवेदन खुला गरिएको छ। सन् २०२७ को अन्त्यतिर पहिलोपटक अफ्रिकामा आयोजना हुने फेस्टिभलमा अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका चलचित्रकर्मीले सहभागिता जनाउन सक्नेछन्।

फेस्टिभलका लागि सन् २०२६ अक्टोबर २९ देखि २०२७ मार्च १ सम्म निःशुल्क आवेदन दिन सकिनेछ। सन् २०२६ जनवरी १ पछि निर्माण सम्पन्न भएका कथानक, वृत्तचित्र, एनिमेसन तथा मिश्रित शैलीका चलचित्रले प्रतिस्पर्धामा भाग लिन पाउनेछन्। ४० मिनेट वा सोभन्दा बढी अवधिका फिचर फिल्ममा तीनवटै क्षेत्रका चलचित्रकर्मीले आवेदन दिन सक्नेछन् भने ४० मिनेटसम्मका सर्ट फिल्ममा अफ्रिकी चलचित्रकर्मीले मात्र सहभागिता जनाउन पाउनेछन्।

फेस्टिभलमा कुल १ लाख २० हजार अमेरिकी डलर पुरस्कार वितरण गरिनेछ। सात विधामा प्रदान गरिने पुरस्कारमध्ये एउटा फिचर फिल्मको ‘फोकस अवार्ड’ र दुईवटा सर्ट फिल्मका ‘सट्र्स अवार्ड’ अफ्रिकी चलचित्रकर्मीका लागि छुट्याइएको छ। फेस्टिभलको आयोजना हुने देश, सहर र मिति भने पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ।

सन् २०२३ मा काजाकिस्तानको अल्माटीबाट सुरु भएको फेस्टिभल सन् २०२४ मा इन्डोनेसियाको योग्याकार्ता र सन् २०२६ मा कोलम्बियाको मेडेलिनमा आयोजना भएको थियो। अघिल्लो संस्करणमा ५५ देशबाट १ हजार ८३१ चलचित्रको आवेदन परेको थियो। मेडेलिनमा सम्पन्न उक्त संस्करणमा ११ हजार दर्शक, १०७ अन्तर्राष्ट्रिय अतिथि र ६० भन्दा बढी साझेदार संस्थाको सहभागिता रहेको थियो।

यसपटकको संस्करणमा चलचित्र प्रदर्शनसँगै छलफल, अन्तरक्रिया र ‘इन्डस्ट्री डेज’ कार्यक्रमसमेत आयोजना गरिनेछ। छनोट भएका चलचित्रका निर्देशकलाई फेस्टिभलमा सहभागी हुन आमन्त्रण गरिने र यात्रा तथा आवास खर्च आयोजकले व्यहोर्ने जनाइएको छ।

ग्लोबल साउथका चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्च

इनड्राइभको सहयोगमा सञ्चालित गैरनाफामूलक पहल अल्टरनेटिभाले विशेषगरी ग्लोबल साउथका चलचित्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने उद्देश्य राखेको छ। चलचित्रमार्फत सामाजिक असमानता र अन्यायका विषय उठान गर्दै सकारात्मक परिवर्तनलाई प्रोत्साहन गर्नु यसको मुख्य लक्ष्य हो।

फेस्टिभलले उत्कृष्ट चलचित्रलाई पुरस्कृत गर्नुका साथै चलचित्रकर्मीबीच व्यावसायिक सम्बन्ध, सहकार्य र अनुभव आदानप्रदानका अवसर सिर्जना गर्दै आएको छ। सन् २०२६ को मध्यतिर सुरु गरिएको ‘अल्टरनेटिभा डिस्ट्रिब्युसन’ पहलमार्फत फेस्टिभलमा सहभागी चलचित्रलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने प्रयाससमेत भइरहेको छ।

इच्छुक चलचित्रकर्मीले २०२७ मार्च १ सम्म निःशुल्क आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया, योग्यता र पुरस्कारसम्बन्धी विस्तृत जानकारी अल्टरनेटिभाको आधिकारिक वेबसाइटमा उपलब्ध छ।