EN
मेनु
Flash News

नेपालमा ई–बीम प्रविधि प्रयोगको सम्भावनाबारे अमेरिकी विज्ञद्वारा अध्ययन

काठमाडौं।नेपालको स्वास्थ्य तथा कृषि क्षेत्रको सुरक्षा सुदृढ बनाउन अमेरिकाको अत्याधुनिक इलेक्ट्रोन बीम (ई–बीम) प्रविधिको सम्भावनाबारे छलफल भएको छ।

टेक्सास ए एन्ड एम विश्वविद्यालयअन्तर्गतको नेसनल सेन्टर फर इलेक्ट्रोन बीम रिसर्चका विशेषज्ञहरूले यसै साता नेपाल भ्रमण गरी प्रविधिको सम्भावित प्रयोगबारे सरोकारवालासँग छलफल गरेका हुन्।

अमेरिकी ऊर्जा विभागअन्तर्गतको नेसनल न्युक्लियर सेक्युरिटी एडमिनिस्ट्रेसन (एनएनएसए) को रेडियोलोजिकल सेक्युरिटी कार्यालय र एसिया तथा प्रशान्त क्षेत्रका लागि क्षेत्रीय सहकारी सम्झौता (आरसीए) को क्षेत्रीय कार्यालयसँगको संयुक्त पाँचवर्षे परियोजनाअन्तर्गत उक्त भ्रमण भएको हो।

भ्रमणका क्रममा ई–बीम प्रविधिमार्फत मेडिकल उपकरणलाई जीवाणुरहित बनाउने, खाद्य पदार्थको सुरक्षा सुनिश्चित गर्ने तथा फोहोर व्यवस्थापन र प्रशोधन गर्ने विषयमा छलफल गरिएको थियो। यस प्रविधिले रेडियोलोजिकल जोखिम न्यूनीकरणमा समेत सहयोग पुर्‍याउन सक्ने बताइएको छ।

नेपालस्थित अमेरिकी दूतावासकी कायममुकायम राजदूत मेगन बोल्डिन र भ्रमणमा आएका अमेरिकी वैज्ञानिकहरूले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग पनि भेट गरेका थिए।

भेटमा विज्ञान तथा प्रविधिको उपयोगमार्फत नेपाल र अमेरिकाबीच सहकार्य विस्तार गर्दै दुवै देशको राष्ट्रिय सुरक्षा र समृद्धिमा योगदान पुर्‍याउने विषयमा छलफल भएको जनाइएको छ।