EN
मेनु
Flash News

जेल विद्रोहदेखि प्रधानमन्त्री पद अस्वीकारसम्म : मञ्चमा फर्किँदै ‘वीर गणेशमान’

काठमाडौं-भोटेकोसीमा आएको बाढीका कारण बीचमै रोकिएको ऐतिहासिक नाटक ‘वीर गणेशमान’ पुनः मञ्चन हुने भएको छ। निर्माण पक्षका अनुसार नाटक आगामी मंसिर ४ देखि १९ गतेसम्म काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा प्रदर्शन गरिनेछ। पुनः मञ्चनको तयारीसँगै नाटकको औपचारिक ट्रेलरसमेत युट्युबमार्फत सार्वजनिक गरिएको छ।

गणेशमान सिंह फाउन्डेसनको आयोजना र सर्वनामको प्रस्तुतिमा तयार भएको नाटकको परिकल्पना, नाट्य रूपान्तरण तथा निर्देशन वरिष्ठ रङ्गकर्मी अशेष मल्लले गरेका हुन्। नेपाली रङ्गमञ्चमा नाटकको औपचारिक ट्रेलर सार्वजनिक गर्ने अभ्यास कमै देखिने भए पनि दर्शकमाझ नाटकबारे जानकारी पुर्‍याउने उद्देश्यले निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको जनाएको छ।

नाटक बिहीबारबाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ बजे अतिरिक्त प्रदर्शनसमेत राखिएको छ।

सत्ता र शक्तिका अगाडि कहिल्यै नझुकेका प्रजातान्त्रिक योद्धा गणेशमान सिंहको जीवन, संघर्ष र राजनीतिक योगदानमा आधारित नाटकले १०३ वर्ष लामो राणाशासनविरुद्ध नागरिक अधिकारका लागि उनले गरेको संघर्षलाई चित्रण गरेको छ। जन्मकैदको सजाय पाएपछि भद्रगोल जेलबाट भागेको ऐतिहासिक घटना र २०४६ सालको जनआन्दोलनपछि प्रधानमन्त्री पद अस्वीकार गरेको प्रसंगलाई नाटकमा विशेष रूपमा समेटिएको छ।

करिब दुई घण्टा लामो नाटकको स्क्रिप्ट सम्पादन प्रा. डा. सावित्री कक्षपतिले गरेकी हुन्। निर्देशक अशेष मल्लले आफ्नो पाँच दशक लामो नाट्ययात्रामा पहिलोपटक बिम्ब र प्रतीकात्मक शैलीभन्दा फरक यथार्थपरक प्रस्तुति अपनाएका छन्।

नाटकमा गणेशमान सिंहको मुख्य भूमिका अभिनेता अभयराज बरालले निर्वाह गरेका छन्। यसअघि भएको प्रदर्शनमा उनको अभिनयले दर्शकबाट प्रशंसा पाएको थियो। बरालको अनुहार र व्यक्तित्वमा गणेशमान सिंहको झल्को देखिएको भन्दै दर्शकले उनको अभिनयको विशेष चर्चा गरेका थिए।

नाटकमा नुषा लिङ्देन लिम्बू, माया मानन्धर, मीना पूर्णिमा, मनिष अर्याल, राम दाहाल, राजन मोक्तान, दुर्लभ सिंह कार्की, निश्चल डी इन्फिनिटी, रमेश वज्राचार्य, प्रदीप भट्ट, अरमान शाही, अनिश बोगटी, शिशिर घर्ती मगर, दिवस गौतम, भक्त श्रेष्ठ, निर्मल शाही, समीर आचार्य, शाश्वत सापकोटा, रुबिन सुनार र रोलेक्स राईलगायत कलाकारको अभिनय रहेको छ।

यसअघि भदौमा सर्वनाम थिएटरमा आयोजित प्रिमियरमा गणेशमान सिंहका छोरा प्रकाशमान सिंहले नयाँ पुस्ताका लागि नाटक महत्त्वपूर्ण रहेको बताएका थिए। उनले नेपालमा पूर्ण प्रजातन्त्र स्थापनाको पृष्ठभूमि र त्यसमा गणेशमान सिंहको योगदान बुझ्न युवा पुस्ताले ‘वीर गणेशमान’ हेर्नुपर्ने धारणा राखेका थिए।