काठमाडौं।बजारमा हुने कालोबजारी, कृत्रिम मूल्यवृद्धि, उपभोक्ता ठगी तथा व्यापारिक अनियमितता नियन्त्रण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ । विभागले असोज र कात्तिक दुई महिनाको अवधिमा ८८७ वटा व्यावसायिक फर्मको अनुगमन गरी कैफियत भेटिएका ७४ वटा फर्मलाई कारबाही गरेको छ ।
विभागका अनुसार कारबाहीमा परेका व्यवसायीबाट २२ लाख ८२ हजार रुपैयाँ जरिवाना असुल गरी राजस्वमा दाखिला गरिएको छ । विभागका महानिर्देशक रितेश कुमार शाक्यले जिम्मेवारी सम्हालेपछि बजार अनुगमनलाई नियमित, व्यवस्थित र परिणाममुखी बनाउने उद्देश्यले टोली परिचालनलाई प्राथमिकता दिइएको हो ।
महानिर्देशक शाक्यका अनुसार विभागले दैनिक पाँचदेखि १० वटासम्म अनुगमन टोली परिचालन गर्दै आएको छ । बजारमा हुने कृत्रिम मूल्यवृद्धि, व्यापारिक बेथिति, गुणस्तरहीन वस्तुको बिक्री तथा उपभोक्तामाथि हुने ठगी नियन्त्रणका लागि अनुगमनलाई निरन्तरता दिइएको उनले बताए ।
‘बजारलाई व्यवस्थित बनाउने र उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा उचित मूल्यमा प्राप्त गर्ने वातावरण तयार गर्नु हाम्रो प्राथमिकता हो । त्यसैले नियमित रूपमा अनुगमन टोली परिचालन गरिरहेका छौँ,’ शाक्यले भने ।
खाद्यान्नदेखि ग्यास र होटलसम्म अनुगमन
विभागले खाद्यान्न तथा किराना पसलमा मात्रै सीमित नराखी उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न व्यापारिक क्षेत्रमा अनुगमन विस्तार गरेको छ ।
खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुका पसल, होटल तथा रेस्टुरेन्ट, चमेनागृह, ग्यास स्टोर, रेडिमेड तथा थान कपडा पसल, कस्मेटिक, अटो पार्ट्स, तरकारी तथा फलफूल पसललगायत क्षेत्रमा निगरानी बढाइएको विभागले जनाएको छ ।
अनुगमनका क्रममा विशेषगरी वस्तुको मूल्य, गुणस्तर, बिक्रीवितरणको अवस्था, व्यवसाय सञ्चालनसम्बन्धी मापदण्डको पालना तथा उपभोक्ता अधिकारको अवस्थालाई प्राथमिकतामा राखिएको छ ।
यसैगरी, अनुगमनका क्रममा कैफियत देखिएका थप ७६ वटा व्यावसायिक फर्मलाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । ती फर्ममाथि थप छानबिन तथा नियामकीय प्रक्रिया अघि बढाइने विभागको भनाइ छ ।
उपभोक्तालाई पनि अनियमितताबारे सूचना दिन आग्रह
बजारमा हुने सबै प्रकारका अनियमितता नियन्त्रण गर्न सरकारी निकायको अनुगमनसँगै उपभोक्ता र सर्वसाधारणको सहयोग पनि आवश्यक रहेको विभागले जनाएको छ ।
महानिर्देशक शाक्यले बजारमा कुनै पनि प्रकारको ठगी, अनुचित व्यापारिक गतिविधि, कृत्रिम मूल्यवृद्धि वा उपभोक्ताको हितविपरीतका गतिविधि देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेका छन् ।
विभागले आगामी दिनमा आवश्यकताअनुसार अनुगमन टोलीको संख्या र परिचालनलाई थप प्रभावकारी बनाउँदै बजारमा हुने गैरकानुनी तथा अनुचित व्यापारिक गतिविधिमाथि निगरानी बढाउने जनाएको छ ।






