काठमाडौं।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ किलो ८०३.७७ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चीनको जिलिन स्थायी ठेगाना भएका ५८ वर्षीय जिनहाउ वाङ रहेका छन् ।
प्रहरीका अनुसार उनी आज बिहान करिब १ः२५ बजे नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० एफमार्फत हङकङबाट काठमाडौं आएका थिए ।
विमानस्थलमा गरिएको जाँचका क्रममा उनले आफ्नो मलद्वारभित्र प्लास्टिकले बेरेर लुकाइछिपाइ ल्याएको सुनजस्तो देखिने पहेँलो गोलाकार अर्धठोस पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । उक्त पदार्थ चारवटा प्लास्टिकका क्यापसहित कुल १ किलो ८०३.७७ ग्राम रहेको बताइएको छ ।
भन्सार क्षेत्र पार गरी विमानस्थलबाट बाहिरिने क्रममा उक्त पदार्थ फेला परेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका वाङलाई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको हो ।






