
काठमाडौं।सुनाखरीको सुन्दरता, विविधता तथा संरक्षणको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा पहिलोपटक सुनाखरी प्रदर्शनी आयोजना हुँदैछ। ‘समृद्धिका लागि सुनाखरी’ भन्ने नारासहित पाँचौँ अन्तर्राष्ट्रिय सुनाखरी सम्मेलन तथा नेपालको पहिलो सुनाखरी प्रदर्शनी २०८३ मंसिर २ गतेदेखि ४ गतेसम्म काठमाडौंको बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सञ्चालन हुँदैछ।
![]()
प्रदर्शनीमा विभिन्न प्रजातिका सुनाखरीको सौन्दर्य, विशेषता तथा विविधतालाई प्रस्तुत गरिनुका साथै सुनाखरीको संरक्षण र प्रवर्द्धनको महत्त्वलाई समेत उजागर गरिनेछ। सुनाखरीप्रति सर्वसाधारणको आकर्षण बढाउने, यसको जैविक विविधताबारे जानकारी दिने तथा संरक्षणमा सरोकारवालाको ध्यानाकर्षण गराउने कार्यक्रमको उद्देश्य रहेको छ।


अन्नपूर्ण रिसर्च सेन्टरको आयोजनामा हुन लागेको सम्मेलन तथा प्रदर्शनीमा फ्लोरिकल्चर एसोसिएसन नेपाल (FAN) र अर्किड फ्लोरिकल्चर ग्रुप (OFG) सह–आयोजकका रूपमा रहेका छन्।
नेपाल प्राकृतिक सम्पदा र जैविक विविधताका दृष्टिले धनी मुलुक भएकाले यहाँ पाइने सुनाखरीका प्रजातिको पहिचान, संरक्षण तथा प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
एक सातासम्म सञ्चालन हुने प्रदर्शनीले पुष्पप्रेमी, सुनाखरीका पारखी, अनुसन्धानकर्ता तथा सर्वसाधारणलाई सुनाखरीको संसारसँग नजिकबाट परिचित हुने अवसर प्रदान गर्नेछ।







