मोबाइलमा रहेको डिजिटल प्रमाणबारे स्वतन्त्र फरेन्सिक अनुसन्धान गर्न माग, संलग्नलाई पदमुक्त गरी पक्राउ गर्नुपर्ने जेनजी मुभमेन्टको भनाइ
काठमाडौं।इनाम सापकोटा प्रकरणलाई लिएर जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार (कुमार बेन) सहित घटनामा संलग्न भनिएका सबैमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ ।
आइतबार जारी प्रेस विज्ञप्तिमार्फत मुभमेन्टले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रधानमन्त्री कार्यालयका सरकारी मामिला तथा योजना समन्वय संयोजक विशाल अधिकारी, गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्की र प्रधानमन्त्रीका सूचना प्रविधि परामर्शदाता चिराग श्रेष्ठमाथि निष्पक्ष अनुसन्धान गर्न माग गरेको हो ।
मुभमेन्टका अनुसार इनाम सापकोटाको मोबाइल फोन दुई दिनसम्म नियन्त्रणमा राखिएको र प्रधानमन्त्री कार्यालयका संयोजक विशाल अधिकारी प्रहरी परिसरमै पुगेर अनुसन्धानका क्रममा सोधखोज गरेको विषय गम्भीर तथा संवेदनशील छ ।
विशेषगरी प्रहरी नियन्त्रणमा रहेका अभियुक्तको मोबाइल प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवाससम्म कसरी पुग्यो भन्ने विषयमा मुभमेन्टले प्रश्न उठाएको छ । उक्त मोबाइल कसको आदेशमा त्यहाँ पुर्याइयो र त्यसमा कसले पहुँच राख्यो भन्नेबारे प्रधानमन्त्री र गृहमन्त्रीले सार्वजनिक रूपमा जवाफ दिनुपर्ने उसको माग छ ।
त्यसैगरी मोबाइलमा रहेका डिजिटल प्रमाण मेटिएको, थपिएको वा परिवर्तन गरिएको हो कि होइन भन्ने विषयमा स्वतन्त्र तथा निष्पक्ष डिजिटल फरेन्सिक अनुसन्धान गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रमाण नष्ट गर्ने, झुटा प्रमाण सिर्जना गर्ने वा अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने कार्य भएको पुष्टि भएमा त्यसमा संलग्न सबैलाई तत्काल पक्राउ गरी कानुनी अभियोजन अघि बढाउन पनि मुभमेन्टले माग गरेको छ ।
मुभमेन्टले घटनामा नाम जोडिएका चारै जनालाई तत्काल सम्बन्धित पदबाट हटाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएको छ । उनीहरूलाई पक्राउ गरेर निष्पक्ष अनुसन्धान सुनिश्चित गर्नुपर्ने उसको माग छ ।
राज्यका अनुसन्धान निकायमाथि राजनीतिक प्रभाव कायम गर्ने र न्यायिक प्रक्रियालाई प्रभावित पार्ने प्रयास गम्भीर अपराध भएको उल्लेख गर्दै मुभमेन्टले घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग आग्रह गरेको छ ।
यस प्रकरणमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिन गरी दोषी देखिने जोकोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने मुभमेन्टको निष्कर्ष छ ।








