जनकपुरधाम।मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी कात्तिक २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार सुरेश यादवका अनुसार मुख्यमन्त्री यादवले निर्धारित मितिमा प्रदेशसभा बैठकमार्फत विश्वासको मत लिने तयारी गरेका हुन् ।
तीनदलीय गठबन्धनको सहकार्यमा गठन भएको कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकारबाट नेकपा एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । गठबन्धनमा रहेका दुई दल सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री यादवले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन् ।
यसैबीच, मधेस प्रदेशमा आगामी सरकार गठनको विषयले राजनीतिक वृत्तमा चर्चा पाएको छ । विभिन्न राजनीतिक दलले आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने दाबी गर्दै आएका छन् । तर, नयाँ सरकार गठनका लागि आवश्यक सत्ता समीकरणबारे दलहरूबीच अझै सहमति जुट्न सकेको छैन ।
विशेषगरी जनता समाजवादी पार्टी (जसपा) नेपालले तत्काल सरकारमा सहभागी हुने विषयमा चासो नदेखाउँदा नयाँ गठबन्धन निर्माणको प्रक्रिया थप अन्योलमा परेको छ ।
नयाँ सत्ता समीकरणमा कुन–कुन दल सहभागी हुने, सरकारको नेतृत्व कसले गर्ने र प्रदेशमा आगामी राजनीतिक दिशा कस्तो हुने भन्ने विषयमा अझै स्पष्टता आएको छैन ।
मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गर्ने वा नगर्ने विषयसँगै मधेस प्रदेशको आगामी सत्ता समीकरण कस्तो बन्ने भन्ने चासो बढेको छ ।







