काठमाडौं।दिदीबहिनी वा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाको अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला गरिएको छ। वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा बिहानैदेखि भक्तजनले पूजा, दर्शन तथा टीका लगाउने व्यवस्था मिलाइएको छ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार बुधबार बिहानैदेखि भक्तजनका लागि मन्दिर खुला गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको छ।
दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले बालगोपालेश्वर मन्दिरमा पुगेर पूजा तथा दर्शन गरी टीका लगाउने परम्परा रहिआएको छ। यस दिन मन्दिरमा भक्तजनको उल्लेख्य भीड लाग्ने गर्दछ।
यसैगरी, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले पूजा, दर्शन तथा टीका लगाउने प्रचलन छ। संस्कृतिविद् एवम् गुठी संस्थानका अध्यक्ष डा. गोविन्द टण्डनका अनुसार विगतमा रानीपोखरीमा हामफालेर बालगोपालेश्वर मन्दिर प्रवेश गर्ने समस्या देखिएपछि विसं २०३५ अघिसम्म मन्दिर बन्द गरिएको थियो।
त्यस समयमा दिदीबहिनी नहुने दाजुभाइ तथा दाजुभाइ नहुने दिदीबहिनीहरू जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा भेला भएर टीका लगाउने गर्थे। अहिले पनि भाइटीकाका दिन उक्त मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ।
विसं २०३५ पछि रानीपोखरीभित्र रहेको बालगोपालेश्वर मन्दिर नियमित रूपमा भाइटीकाका दिन खुल्न थालेको हो। तर, विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पका कारण मन्दिर क्षतिग्रस्त भएपछि विसं २०७७ सम्म दिदीबहिनी तथा दाजुभाइ नहुने भक्तजन खञ्जनेश्वर महादेव मन्दिर पुग्ने गरेका थिए। पुनर्निर्माण सम्पन्न भएपछि विसं २०७७ देखि बालगोपालेश्वर मन्दिर पुनः भक्तजनका लागि खुला गरिएको हो।
यसैबीच, नेवार समुदायले भाइटीकाको दिनलाई किजापूजाका रूपमा मनाउने गर्दछन्। समुदायको कुल परम्परा र चलनअनुसार कसैले भाइटीकाकै दिन त कसैले अघिल्लो दिन किजापूजा गर्ने परम्परा छ। भक्तपुरका अधिकांश नेवार समुदायले भने तलेजु मन्दिरका पुजारी तथा ज्योतिषीको निर्णयअनुसार अघिल्लो दिन नै किजापूजा सम्पन्न गरेका छन्।







