काठमाडौँ।कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका अधिकांश खेल मुख्य आयोजक जिल्ला सुर्खेतमा सञ्चालन हुने भएका छन् । कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा, पाँच खेल कर्णाली प्रदेशका अन्य चार जिल्लामा र चार खेल छिमेकी लुम्बिनी प्रदेशका दुई जिल्लामा आयोजना गर्ने तय भएको छ ।
प्राविधिक समितिबाट अनुमोदित खेल तालिकाअनुसार प्रतियोगिताको औपचारिक उद्घाटन आगामी मंसिर १६ गते सुर्खेत रंगशालामा हुनेछ । प्रतियोगिताको समापन मंसिर २७ गते गर्ने कार्यतालिका तय गरिएको छ ।
यद्यपि, औपचारिक उद्घाटन हुनुअघि नै मंसिर ८ गतेदेखि विभिन्न खेलका प्रतिस्पर्धा सुरु हुनेछन् । पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीका प्रतिस्पर्धा उद्घाटनअघि नै सञ्चालन हुनेछन् ।
मुख्य आयोजक स्थल सुर्खेतमा एथ्लेटिक्स, पुरुष फुटबल, क्रिकेट, भलिबल, हक्की, रग्बी र साइक्लिङलगायतका मैदानी खेल आयोजना हुनेछन् । त्यस्तै, कराते, तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, उसु र बक्सिङजस्ता मार्सल आर्ट्सका खेल पनि सुर्खेतमै सञ्चालन गरिनेछ ।
यसका अतिरिक्त ब्याडमिन्टन, टेबल टेनिस, जिम्न्यास्टिक, ह्यान्डबल, स्क्वास, बास्केटबल, कबड्डी, आर्चरी, भारोत्तोलन, ई–स्पोर्ट्स र सेपाकताक्रोका प्रतिस्पर्धा पनि सुर्खेतमै हुनेछन् ।
कर्णालीका अन्य जिल्लामा भने उपलब्ध पूर्वाधार र भौगोलिक अनुकूलताका आधारमा खेलहरू बाँडफाँट गरिएको छ । दैलेखमा आईटीएफ तेक्वान्दो, कालिकोटमा बुद्धिचाल, सल्यानमा जुडो तथा कुस्ती र पश्चिम रुकुममा शारीरिक सुगठन प्रतियोगिता आयोजना गरिनेछ ।
कर्णालीमा आवश्यक खेल पूर्वाधारको अभावका कारण केही खेल छिमेकी लुम्बिनी प्रदेशमा सञ्चालन गर्न लागिएको हो । जसअनुसार पौडी र सुटिङका खेल बाँकेको नेपालगञ्जमा तथा टेनिस र खो–खोका प्रतिस्पर्धा बर्दियामा आयोजना हुनेछन् ।
भौगोलिक विकटता र पर्याप्त खेल पूर्वाधारको अभावका बीच प्रतियोगितालाई व्यवस्थित रूपमा सम्पन्न गर्न आयोजकले विभिन्न जिल्लामा खेलस्थल बाँडफाँट गरेको हो । यसबाट कर्णालीका विभिन्न जिल्लामा राष्ट्रिय खेलकुदको गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ ।







