EN
मेनु
Flash News

बूढानीलकण्ठमा दुईदिने कृषक सम्मेलन तथा कृषि–पशु उत्पादन प्रदर्शनी मेला सुरु

काठमाडौं।स्थानीय कृषि तथा पशुजन्य उत्पादनको प्रवर्द्धन, बजारीकरण र उपभोगलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा दुईदिने ‘कृषक सम्मेलन तथा कृषि तथा पशु उत्पादन प्रदर्शनी मेला’ सुरु भएको छ।

बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा आजदेखि सुरु भएको मेलाको नगरप्रमुख मिठाराम अधिकारीले उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा नगरप्रमुख अधिकारीले चाडपर्वलाई लक्षित गर्दै नगरपालिकाभित्रका कृषकले उत्पादन गरेका कृषि तथा पशुजन्य सामग्रीको प्रदर्शनी र कृषक सम्मेलन आयोजना गरिएको बताए।

उनका अनुसार स्थानीय तथा रैथाने कृषि र पशुजन्य उत्पादनको पहिचान, प्रवर्द्धन र बजार विस्तार गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो।

मेलामा स्थानीय कृषक तथा उत्पादकले उत्पादन गरेका फूल, फलफूल, तरकारी, दुग्धजन्य पदार्थलगायत विभिन्न कृषि तथा पशुजन्य सामग्रीको प्रदर्शनी तथा बिक्री भइरहेको छ।

नगरपालिकाकी उपप्रमुख अनिता लामाले स्थानीय लघु तथा साना कृषक उद्यमीको प्रोत्साहनका लागि नगरपालिका निरन्तर क्रियाशील रहेको बताइन्। उनले कृषकलाई अनुदान उपलब्ध गराउनेदेखि स्वस्थ कृषक कार्यक्रम सञ्चालन गर्नेसम्मका पहल भइरहेको जानकारी दिइन्।

उपप्रमुख लामाले स्थानीय तथा रैथाने खानाको प्रवर्द्धनमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।

मेलाको माध्यमबाट स्थानीय उत्पादनको अवलोकन तथा खरिद गरी कृषक र उत्पादकलाई प्रोत्साहन गर्न नगरपालिकाले नगरवासी तथा सम्पूर्ण उपभोक्तालाई आग्रह गरेको छ। मेला शनिबारसम्म सञ्चालन हुनेछ।