EN
मेनु
Flash News

पर्यटन बोर्डको सीईओ छनोट प्रक्रिया अघि बढ्यो, श्रद्धा श्रेष्ठसहित १६ जना सर्टलिस्टमा

काठमाडौं।नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूचीमा छनोट भएका छन् । सर्टलिस्टमा पूर्वपर्यटनमन्त्री श्रद्धा श्रेष्ठसमेत परेकी छन् ।

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस उपसमितिले आवेदन दिएका उम्मेदवारहरूको मूल्यांकनपछि उच्चतम अंक प्राप्त गर्ने १६ जनालाई छनोट गरेको हो । उपसमितिले शुक्रबार कात्तिक २० गते सार्वजनिक गरेको सूचनामार्फत सर्टलिस्टमा परेका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ ।

सर्टलिस्टमा आशुतोष प्रधान, उत्तम प्रसाद देवकोटा, टेक बहादुर महत, धर्मराज दवाडी, नोजल कोइराला, युविका भण्डारी, राजाराम केसी र राम चन्द्र सेढाईं रहेका छन् ।

त्यस्तै रोहिणी प्रसाद खनाल, लक्ष्मण गौतम, विनोद अर्याल, श्रद्धा श्रेष्ठ, श्री प्रसाद भट्टराई, सन्तोष विक्रम थापा, सुरेश सिंह बुडाल र हिकमत सिंह ऐर पनि छनोट भएका छन् ।

उपसमितिका अनुसार सबै उम्मेदवारले आगामी मंसिर १० गते बिहान ८ः१५ बजे नेपाल पर्यटन बोर्डको सचिवालयमा उपस्थित हुनुपर्नेछ । उनीहरूले आफ्नो शैक्षिक योग्यता र कार्यअनुभवसम्बन्धी सक्कल प्रमाणपत्र तथा कागजात अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ ।

सर्टलिस्टमा परेका उम्मेदवारहरूको अर्को चरणमा प्रस्तुतीकरण हुनेछ । उनीहरूले पर्यटन विकास, नेपालको पर्यटन प्रवर्द्धन, बोर्डको भावी रणनीति र कार्ययोजनाका विषयमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्नेछन् ।

नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने, पर्यटनसम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने तथा निजी क्षेत्र र सरकारी निकायबीच समन्वय गर्ने जिम्मेवारी बोर्डको कार्यकारी प्रमुखमा रहने भएकाले यस नियुक्तिलाई महत्वपूर्ण रूपमा हेरिएको छ । अब प्रस्तुतीकरण र आगामी छनोट प्रक्रियापछि बोर्डले नयाँ नेतृत्व पाउने अपेक्षा गरिएको छ ।