
काठमाडौँ।नेपाली हिप–हप संगीत र र्याप संस्कृतिलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित ‘Hustle by NepHop’ नेपालमा आउने भएको छ। भारतीय चर्चित र्याप रियालिटी शो ‘MTV Hustle’ को नेपाली फ्रेन्चाइजका रूपमा आउन लागेको यस कार्यक्रमको Title Sponsor मा TVS NTORQ जोडिएको छ।
मलिन मिडिया एन्ड इभेन्ट प्रा.लि.ले आयोजना गर्न लागेको कार्यक्रम ‘TVS NTORQ Presents Hustle by NepHop’ का रूपमा सञ्चालन हुनेछ। कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुने कार्यक्रमलाई नेपाली दर्शकमाझ प्रिमियम र्याप रियालिटी शोका रूपमा प्रस्तुत गर्ने आयोजकको तयारी छ।

अन्तर्राष्ट्रिय र्याप रियालिटी शोको अवधारणामा आधारित भए पनि यस कार्यक्रमले नेपाली मौलिकता, स्थानीय संस्कृति, सामाजिक परिवेश र नेपाली हिप–हपको पहिचानलाई प्राथमिकतामा राख्नेछ। स्थापित र्यापरदेखि नयाँ पुस्ताका प्रतिभासम्मलाई आफ्नो कला र सिर्जनशीलता प्रस्तुत गर्ने राष्ट्रिय मञ्च प्रदान गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा र्याप प्रतिस्पर्धा, मेन्टरसिप तथा सांगीतिक प्रस्तुतिलाई विशेष प्राथमिकता दिइनेछ। यसले नेपाली हिप–हप क्षेत्रमा नयाँ प्रतिभाको पहिचान र विकाससँगै यस विधाको लोकप्रियता थप विस्तार गर्ने अपेक्षा गरिएको छ।

युवापुस्ताको ऊर्जा, आत्मविश्वास र सिर्जनशीलतासँग जोडिएको TVS NTORQ ले नेपाली हिप–हप संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रमसँग सहकार्य गरेको हो। ‘गल्लीदेखि ग्लोरीसम्म’ (Gully to Glory) भन्ने मूल नारासहित अघि बढ्ने शोले नेपाली र्याप प्रतिभालाई ठूलो मञ्चमा आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्ने विश्वास आयोजकको छ।
कार्यक्रमको प्रसारण मिति, प्रतिस्पर्धामा सहभागी हुने प्रक्रिया तथा अन्य विस्तृत जानकारी भने चाँडै सार्वजनिक गरिने जनाइएको छ।







