काठमाडौँ।जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज आइतबार एक मात्र खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा साँझ ५ बजे जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । फ्लडलाइटमुनि हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
प्रतियोगितामा जनकपुर बोल्ट्सले हालसम्म मिश्रित प्रदर्शन गरेको छ । दुई खेल खेलेको जनकपुरले एक जित र एक हार बेहोरेको छ । प्रतियोगिताको पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा भने उत्कृष्ट पुनरागमन गर्दै काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको थियो ।
दोस्रो खेलमा हात पारेको जितले उत्साहित जनकपुर आजको खेलमा पनि सोही लयलाई निरन्तरता दिने योजनामा हुनेछ । पोखराविरुद्ध जित निकाल्न सके जनकपुरले प्रतियोगितामा आफ्नो स्थिति थप मजबुत बनाउने अवसर पाउनेछ ।
यता, पोखरा एभेन्जर्स भने पहिलो जितको खोजीमा छ । पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको पोखरा आजको खेल जित्दै प्रतियोगितामा जितको खाता खोल्न चाहन्छ ।
पहिलो खेलको हार बिर्सेर मैदान उत्रने तयारीमा रहेको पोखराका लागि आजको खेल अंक तालिकामा अघि बढ्ने महत्वपूर्ण अवसर हुनेछ । जनकपुर आफ्नो जितको यात्रालाई निरन्तरता दिन चाहँदा पोखरा भने पहिलो जित हात पार्ने लक्ष्यमा हुनेछ । त्यसैले आजको प्रतिस्पर्धा दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ ।







